एसिया कप छनोट : नेपाल यूएईसँग ७८ रनले पराजित

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १५ : १७
एसिया कप छनोट : नेपाल यूएईसँग ७८ रनले पराजित

चितवन ।  एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा  पनि नेपालले हार व्यहोरेको छ । किननरा ओभलमा बिहिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएईं) सँग ७८ रनले पराजित भएको हो । युएइले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७६ रनमात्रै बनाउन सक्यो ।

नेपालका लागि सुवास खकुरेलले ५० रन बनाएपनि जितका लागि त्यो पर्याप्त हुन सकेन । नेपालका अन्य व्याट्सम्यानमा दिपेन्द्रसिंह ऐरिले ४० रन, सोमपाल कामीले २७ र कप्तान पारस खड्काले १६ बनाए पनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
युएईंका अहमेद राजाले ४ तथा मोहम्मद नाभिदले ३ विकेट लिए । यस्तै अमिर हायातले दुई तथा अस्पाक अहमेदले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईंले ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन बटुले ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । योसँगै ओडीआइमा सन्दिपले पहिलोपटक ४ विकेट लिएका थिए । यस्तै वसन्त रेग्मी र सोमपाल कामीले  समान २–२ विकेट लिएका थिए ।

यो जितसँगै युएई २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । नेपाल लगातार दोस्रो हारसँगै पुछारबाट दोस्रो स्थानमा छ । बुधबारको पहिलो खेलमा ओमनले नेपाललाई ७ विकेटले पराजित गरेको थियो ।  अब बाँकी रहेका ३ खेल नेपालले जितेपनि अरु टिमको प्रदर्शनमा पनि भर पर्नु पर्नेछ ।  
 ६ राष्ट्र सम्मिलित प्रतियोगितामा ५ खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  उपाधी विजेताले एसिया कपमा सहभागिता जनाउनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस