हात्तीको आक्रमणबाट माउतेको मृत्यु, ज्यान गुमाउनेका परिवारलाई राहत

विहीबार, १४ भदौ २०७५, १४ : ०५
हात्तीको आक्रमणबाट माउतेको मृत्यु, ज्यान गुमाउनेका परिवारलाई राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद ९ख० नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए । सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो । घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए ।

यसैबीच, डिभिजन वन कार्यालय झापाले वन्यजन्तुबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा जङ्गली हात्तीका कारण ज्यान गुमाएका तीन जनालाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति बुधबार हस्तान्तरण गरिएको हो । वन्यजन्तु क्षतिबापत अनारमनीका रसुल मिया, हरिमान राजवंशी र चन्द्रगढीका दुर्गाबहादुर कटुवालको परिवारलाई सो राहत दिइएको हो ।

त्यसैगरी डढेलोबाट रोकथाम तथा हरियाली निर्माण गरेबापत उत्कृष्ट सामुदायिक वन प्रथम कमलधाम रामपोखरी वन, द्धितीय प्रजापति सामुदायिक वन र तृतीय हिमालय सामुदायिक वन कन्काइलाई नगदसहित पुरस्कृत गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताउनुभयो । सोही अवसरमा उत्कृष्ट सशस्त्र वन रक्षक सम्मानबाट प्रदीप राजवंशी र लोकबहादुर बुढाथोकी सम्मानित हुनुभएको छ । -रासस

प्रतिक्रिया दिनुहोस