राप्रपा नेपालले बोलायो कार्य सम्पादन समितिको बैठक

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, १३ : २९
राप्रपा नेपालले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौँ । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘काठमाडौँमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरूलाई सचिवालय मार्फत खबर गरिएको छ,उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’ बर्तौलाले भने ।  उनका अनुसार पछिल्लो समय भएको  आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको  जनताको वितृष्णा र आक्रोश , मुलुकको अवस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ ।

गृहजिल्ला हेटौँडामा रहेका थापा बैठकका निमित्त भनी काठमाडौँ आइपुगिसकेका छन् ।  थापाले  पार्टीले अवलम्बन गर्ने नीति ,सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले विरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरूलाई आग्रह गरेका थिए ।  केही दल र नेताहरूले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरूको बरबराहट भन्ने टिप्पणी गरेका थिए ।