चितवन प्रहरीले तीन महिनामा ४५३ जनालाई मुद्दा चलायो

विहीबार, १४ भदौ २०७५, ११ : ४६
चितवन प्रहरीले तीन महिनामा ४५३ जनालाई मुद्दा चलायो

 

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ३ महिनाको अवधिमा (जेठ 4 यता) आपराधिक गतिविधिमा संलग्न तथा समाजमा विकृति विसंगति फैलाउने ४५३ जनालाई मुद्दा चलाएको छ । 
चितवन प्रहरीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी ३ महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्दै सुरक्षित र शान्त चितवन अवधारणाअन्तर्गत सुरक्षाका विभिन्न नीतिहरु अवलम्बन गरेबाप्त उक्त सफलता मिलेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले लागूऔषध दुव्र्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी र कालोबजारीजस्ता अपराध नियन्त्रण गर्न लागेको बताए ।

लागूऔषध नियन्त्रण– 
तीन महिनाको अवधिमा चितवन प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । राप्ती १ महादेवटारको सुरदेवी सामुदायिक वनमा लुकाइ राखेको अवस्थामा ५० किलो गाँजा बरामद गरेको छ । अन्य लागूऔषध पनि प्रहरीले ठूलो परिमाणमा बरामद गरेको छ । 
यसैगरी भरतपुर १० बाट १९ किलो २०० ग्राम गाँजा बरामद गरेको छ । तीन महिनामा लागूऔषध उत्पादन खरिदबिक्री, सेवन, ओसारपसार तथा सञ्चय गर्ने कार्यमा सम्लग्न भएका ३४ पुरुष र १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

गुण्डागर्दी नियन्त्रण 
तीन महिनाको अवधिमा चितवन प्रहरीले समाजमा अशान्ति, डरत्रास र भय सिर्जना गरी गुण्डागर्दी गर्ने, व्यवसायीहरुलाई धम्क्याई रकम असुल गर्ने ३७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । 

फरार अभियुक्त पक्राउ
विभिन्न अपराधमा सम्लग्न रही फरार रहेका २४ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरीले चितवन जिल्ला अदालतमा बुझाएको छ । 

यौनधन्दा चलाउनेमाथि कारबाही 

तीन महिनाको अवधिमा समाजमा सामाजिक विकृतिजन्य कार्य गर्ने १९ पुरुष, ८ महिला र होटल सञ्चालक २ जना गरी २९ जनालाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । 
यसैगरी जुवातास नियन्त्रणमा पनि प्रहरीले तीन महिनाको अवधिमा केहीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही चलाएको छ ।  
वन्यजस्तु तस्करी गर्ने २ जनालाई यो तीन महिनाको अवधिमा चितवन प्रहरीले पक्राउ गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन तथा विक्रीवितरण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
भन्सार छली गरी ल्याइएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । 
चोरीमा संलग्न भएका केहीलाई पनि प्रहरीले यो तीन महिनाको अवधिमा पक्राउ गरेको छ ।


मिर्गौला तस्करीका गिरोह पक्राउ 
चितवन प्रहरीले मिर्गौला तस्करी गरेको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लामा स्वास्थ्य सम्बन्धी बिभिन्न अपराध बढ्दै गएपछि गत असारमा २५ गतेबाट ७ जनाको मेडिकल रेस्पोन्स टिम गठन गरेर कारवाही अगाडि बढाएको छ ।
अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने ३ जनालाई प्रहरीले कारबाही गरी मुद्दा चलाएको छ । 

सामुहिक बलात्कार गर्ने पक्राउ 
भरतपुर ११ र माडी ३ मा सामूहिक बलात्कारका आरोपित ७ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । यो बीचमा चितवनबाट विप्लव समूहका ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस