काठमाडौँ । तामझामका साथ काठमाडौँमा बिमस्टेकको चौथो शिखर सम्मेलन आज अपरान्ह ४ बजेबाट सुरु हुँदै छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन् ।
सोल्टी होटलमा सुरु हुने सम्मेलनमा ओलीले आर्थिक सम्भावना, उर्जालगायत बिमस्टेक सदस्य मुलुकका प्रयास र सम्भावनाका विषयमा बोल्नेछन् ।
नेपाल अध्यक्ष राष्ट्र हो । ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चाले १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।
सम्बोधनका विषयमा बिम्स्टेम मन्त्रीस्तरिय बैठकले बुधबार एजेन्डा तयार पारिसकेको छ । काठमाडौं घोषणापत्र तयार भइसकेको छ । बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले सदस्य–मुलुकका कार्यकारी प्रमुखलाई रात्री भोज दिनेछन् । भोली बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवम् राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।
भोलि शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् । सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यसैगरी ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकवाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ । त्यसपछि बिमस्टेक घोषणापत्र जारी हुनेछ ।
प्रतिक्रिया दिनुहोस