काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिएको र प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ ।
निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलको व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने
चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई आयोगले बोलायो
प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल