एशिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, ११ : ३५
एशिया कप छनोट :  नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

काठमाडौँ । एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ९ विकेटको क्षतिमा २२१ रन बनाएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । अन्तिम ओभरमा रन आउट हुनअघि उनले ६ चौका र दुई छक्का हिर्काए ।
८० रनको स्थितिमा ४ विकेट गुमाएको स्थितिमा रहेको बेला पुनले आरिफ शेखसँग ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई अप्ठ्यारो स्थितिबाट उकासे ।
एक छक्का र ३ चौकासहित शेखले ३६ रन बनाएर मोहमद नादिमको बलमा क्याच आउट हुँदा नेपालको स्कोर १ सय ७२ रन रहेको थियो ।
उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदै नेपाललाई राम्रो शुरुवात दिलाएका थिए । उनले ६० बलमा ६ चौका र एक छक्का हिर्काए ।

प्रतिक्रिया दिनुहोस