चितवन । फेरि एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज माडीको रिउ खोला पुलबाट १०० मिटर पश्चिमतर्फ मृत अवस्थामा एउटा गैंडा फेला परेको छ । यो आर्थिक वर्ष लागेपछि प्राकृतिक कारणले गैंडाको मृत्यु भएको यो दोस्रो पटक हो । यही वर्ष भदौ १ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।
पछिल्लो समय गैंडाको प्राकृतिक मृत्युदर बढी देखिएको छ । यही आर्थिक वर्षमा अघिल्लो वर्ष प्राकृतिक कारणले मात्र २६ गैंडा मरेका थिए ।
के कारणले देखियो त गैंडाको प्राकृतिक मृत्युदर बढी ? चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘निकुञ्जमा घाँसे मैदान खुम्चिँदै गएको छ, घाँसे मैदानको ठाउँ साँघुरो भयो, एकै ठाउँमा गैंडा जम्मा हुँदा उनीहरुबीच जुधेर गैंडा मरेका छन् ।’
चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैंडा, बच्चा पाउन नसकेरदेखि जुँधेरसम्म मर्ने गरेका उनले बताए । गएको वर्ष साउन २८ र २९ गते आएको बाढीले बगाएर समेत ४ वटा गैंडा मरेका थिए । बूढो भएर पनि गैंडा मरिरहेका छन् । पछिल्लो समय लामो ताल नजिकैको घोलमा मरेको गैंडा बूढो भएर मरेको निकुञ्जले जनाएको छ ।
तस्करले गैंडा मार्ने क्रम रोकिएपनि प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेको सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । यसले संरक्षणकर्मीहरुलाई थप चिन्तित बनाएको उनको भनाइ थियो ।
गैंडाको संख्या थपिँदै जाँदा प्राकृतिक कारणले मर्नेको संख्या पनि बढेको अर्यालको भनाइ छ । वासस्थानको व्यवस्थापन कमजोर हुने, विभिन्न रोगका कारण पनि गैंडा मरिरहेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
‘हामीले घाँसे मैदानमा जोड दिइरहेका छौँ, झाडी बुट्यान फालेर घाँसे मैदान बनाइरहेका छौँ’ सूचना अधिकारी नुरेन्द्र अर्यालले भने ।
केही वर्षयता चितवनसहितका निकुञ्जमा चोरी शिकार झन्डै झण्डैं नियन्त्रणमा आए पनि पछिल्लो समय प्राकृतिक कारणले गैंडा मर्नुको अर्को कारण बासस्थान क्षयीकरणलाई पनि लिन सकिन्छ ।
२०७३ सालपछि तस्करले गैंडा नमारे पनि प्राकृतिक कारणले गैंडा मरिरहेका छन् ।
प्राकृतिक कारणबाट गैंँडा मर्ने क्रम बढेसँगै त्यसको तथ्य पत्ता लगाउन निकुञ्ज विभागले अनुसन्धान गरेको थियो । ‘विभागले अनुसन्धान गरेर गयो, तर निकुञ्जलाई थप केही जानकारी गराएको छैन, विभागको रिपोर्ट पनि निकुञ्जसम्म आइसकेको छैन’ सूचना अधिकारी अर्यालले भने ।
निकुञ्जले दिएको जानकारी अनुसार गत वर्ष कालगतिले ८, जुधेर ४, बाढीमा परेर ४, बाघको आक्रमणबाट ४, रोगका कारणले ३, ब्याउन नसकेर १ र कारण नखुलेका २ गरी २६ गैंडाको मृत्यु भयो । त्यसमा भाले १२, पोथी १० र नखुलेको ४ गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस