मोरङ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका छन् । विराटनगरका पत्रकार शङ्कर खरेलले लेखेको लघुकथा ´ॐ तृप्यन्ताम` पुस्तक विमोचन कार्यक्रममा शनिबार कोइरालाले दाहाल आफैँ प्रधानमन्त्री भएर सडकमा लाखौँ मान्छे उतार्नेलगायतका अभिव्यक्ति दिएर मुलुकमा अराजकता फैलाउन खोजेको बताएका हुन् ।
´मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ तर प्रधानमन्त्रीले आफैँ सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतङ्कित बनाइरहेका छन्,` कोइरालाले भने, ´मुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतङ्कित बनाइराखेका छन् ।`
उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको बताए । ´मुलुकमा बहुविश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय खोल्ने लहर छ तर कलेजहरू रित्तिँदै गएका छन्,` उनले भने, ´विद्यार्थीहरू लाम लागेर विदेशी पलायन भइरहेका छन् । त्यसैले विद्यार्थी विदेश पलायन हुने कारण खोजेर निकास दिनु आवश्यक छ ।`
सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा रहेकोलाई चुनोति दिँदै अंग्रेजी माध्यमको नाममा सामुदायिक विद्यालयहरूले अभिभावकसँग अवैधरूपमा रकम असुली गरिरहेको प्रति कोइरालाले आपत्ति जनाए । माध्यमिक तहको शिक्षा निःशुल्क र गुणस्तरीय बनाउन सकेमात्रै देश उँभो लाग्ने उनको भनाइ छ । वैदेशिक रोजगारीका लागि युवा पलायनले मुलुकभरि वृद्धवृद्धा बेसहारा भएर पारिवारिक विचलनका साथै विकृति बढ्दै गएको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।
´युवा विलेश पलायनले देशमा विकृति बढिरहे पनि राज्यले रेमिट्यान्स भित्रिरहेकोमा गर्व गरिरहेको छ,` उनले भने, ´रेमिट्यान्सले सधैँ देश चल्दैन । यो एउटा पार्टमात्रै हो, देश चलाउन उत्पादन बढाउनु आवश्यक छ । र, त्यसका लागि युवा शक्ति अपरिहार्य छ ।`मुलुकमा देखिएका यावत समस्याको समाधान राजनीतिक नेतृत्वले दिनुपर्ने कोइरालाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?