कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्तिसहितको टोली खटाउने

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, १३ : ४४
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्तिसहितको टोली खटाउने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावितका लागि एक सय अस्थायी आवास बनाइदिने भएको छ । पार्टीको पहलमा एक सय अस्थायी आवास बनाउने र थप एक हजार टहरा बनाउन पार्टीका नेता कार्यकर्ता परिचालित गरिने कांग्रेसले जनाएको छ ।

पार्टीका तर्फबाट बनाउने एक सय अस्थायी आवासका लागि ३/४ दिन भित्रमा पहिलो टोली भूकम्प प्रभावित क्षेत्रमा पुग्ने महामन्त्री गगन थापाले जानकारी दिए ।एउटा टोली फर्केपछि अर्को टोलीलाई पठाउने कांग्रेसले जनाएको छ । प्रत्येक पटक टोलीको नेतृत्व केन्द्रीय सदस्यले गर्नेछन् ।

एउटा टोली एक साता निर्माण कार्यमा खटिने भएको छ । अस्थायी आवास निर्माणका लागि जाने समूहले खानाको व्यवस्था आफैं गर्नुपर्नेछ । टहरा बनाउन लागि खटिएको टोलीले आफूहरु बस्ने’सुत्न पाल आफैंले टाँगेर व्यवस्था गर्नुपर्नेछ ।

टोलीमा दक्ष, अर्ध दक्ष र सहयोगी रहने महामन्त्री थापाले जानकारी गराए । दुई जना दक्ष जनशक्ति, दुई जना अर्ध दक्ष र अरू ७/८ जना स्वयंसेवक सहित टोली खटिने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा निर्माणका कार्यमा खटिने जनशक्ति अभाव रहेकाले कामदारहरु काठमाडौं र अन्य क्षेत्रबाट व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ।

स्थानीय संयन्त्रसँगको सहकार्यमा कुन परिवारका लागि घर बनाउने त्यसको पहिचान गरिने भएको छ । ‘प्रभावित स्थानमा जाने साथीहरुलाई त्यहाँको संयन्त्रसँग छलफल गरेर प्राथमिकता अनुसार अस्थायी टहरा बनाउन भनेका छौं,’ महामन्त्री थापा भन्छन् ।

सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरुलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

सरकारले दिने अनुदान ढिलो भयो भने सरकारी योजना नै असफल हुने कांग्रेसको आशंका छ । मंसिर महिनाभित्रै हजारौं टहरा बनाउनुपर्ने भएकाले समयमा रकम पुगेन भने सरकारी योजना असफल हुने महामन्त्री थापा तर्क गर्छन् ।

सरकारी योजना सफल बनाउन सहकार्य गर्न तयार रहेको कांग्रेसले जनाएको छ । सरकारी अनुदानको रकम पुग्नु अघि नै कांग्रेसले अस्थायी टहरा बनाउने अभियान सुरु गरिसक्ने महामन्त्री थापाले बताए । ‘सरकारले समयमा रकम पिडितको हातमा पुग्नु अगाडि नै हाम्रो स्रोत साधनबाट अस्थायी टहरा बनाउन सुरु गर्छौं,’ महामन्त्री थापा भन्छन्,‘त्यसका लागि सरकारी र तलको संयन्त्र सहयोगी भइदिनुपर्दछ । सरकारले बनाएको एकद्धार प्रणालीमा मिसिएर काम गर्न चाहन्छौं ।’

नमूनाका रुपमा बनाइएका दुई घरमा लागेको खर्चको आधारमा करिब ४० हजार रुपैयाँमा एउटा अस्थायी आवास बनाउन सकिने कांग्रेस बुझाइ छ । १७ कात्तिकको मध्यराति गएको भूकम्पबाट मानवीय र भौतिक संरचनामा सबैभन्दा बढी जाजरकोटमा क्षति पुगेको छ ।

उक्त भूकम्पले १३ जिल्लामा क्षति पु¥याएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । १५४ जनाको मृत्यु भएको उक्त भूकम्पका कारणले २६ हजार ५५७ घर पूर्ण क्षति र ३५ हजार ४५५ घर भूकम्पबाट आशिंक क्षति पुगेको शाखाले जानकारी गराएको छ ।