काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरूमा गम्भिरता नदेखिएको टिप्पणी गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले मन्त्रीहरूले विधेयक ल्याउनका लागि नै चासो नदेखाएको आरोप लगाए । संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेकोले उनीहरूमा विधेयकप्रति कुनै गम्भिरता नभएको स्पष्ट भएको तिमिल्सिनाको भनाइ छ । संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरू अन्य काममा हिँड्ने गरेको, आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोजसमेत नगर्ने गरेको उनले बताए ।
अध्यक्ष तिमिल्सिनाले भने, ‘मन्त्री हुन तीव्र इच्छा हुने । पार्टी फोडेर पनि मन्त्री खाने देखियो । तर, त्यो के को लागि त ? मन्त्री हुनको लागि मात्रै कि देश, जनता, राष्ट्रको लागि केहि चिज नयाँपन दिनको लागि ? त्यसकारण अब सबै राजनीतिककर्मीहरूले र मुख्यतः संसद सदस्यहरुले मन्त्री हुन चाहँदाखेरी या मन्त्री बन्दा आम नागरिकले अब नयाँ कुरा आउँछ भनेर अपेक्षा गर्ने र आश्वस्त हुन सक्ने बनाउनु पर्यो नि । त्यो आश्वस्त बनाउने दिशातिर गएको देखिँदैन । झिनामसिना कुरामा प्रचार धेरै गर्ने तर गुणात्मक परिवर्तन ल्याउने गरी काम भएको छैन ।’
उनले विधेयकलाई गुणस्तरीय बनाउन लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान पुर्याउनुपर्नेमा जोड दिए । आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्नु नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने उनको भनाइ छ ।
विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद, सांसदहरू र मतदातासमेतको भूमिका भएको भन्दै सबैले आ-आफ्नो भूमिका राम्रो बनाउनुपर्नेमा तिमिल्सिनाले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १४ : ०८
लेखकबाट थप