कम्युनिस्ट सत्ताधारी कमिसन खाने र अर्बौँ कमाउने मात्र भए : झलनाथ खनाल

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, १२ : ४२
कम्युनिस्ट सत्ताधारी कमिसन खाने र अर्बौँ कमाउने मात्र भए : झलनाथ  खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट सत्ताधारीहरू कमिसन खाने र रातारात खर्बौँ कमाउने धन्दामा लागेको आरोप लगाएका छन् । त्यस धन्दामा अहिलेको सत्ताधारी मात्र नभई २०४६ देखिकै सरकार लागिपरेको उनले आरोप लगाए । 

 

‘कम्युनिस्ट सत्ताधारीले कमिसन खाने, रातारात खर्बौँ कमाउने र देशलाई उपभोक्ताको रूपमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय कम्पनीको बजार बनाउने काम भएको छ । अहिलेको सत्ता मात्र नभई ०४६ देखि नै यही भइरहेको छ ’,  उनले भने । 

 

मुलुकको समस्या समाधानको उपाय पहिलो वाम एकता, दोस्रो प्रगतिशील सुधारको वृहत् प्याकेज, त्यसलाई कार्यान्वयन गर्ने प्रगतिशील सरकार र त्यसको आधारमा राष्ट्रिय एकता आवश्यक भएको उनले बताए ।

यस्तै कर्णाली प्रदेशका भूकम्पपीडितहरूको राहत, उद्धार र पुननिर्माणमा देश विदेशबाट व्यापक राहत आए पनि सम्बन्धित ठाउँमा नपुगेको खनालले आरोप लगाए ।    

‘सरकारले प्रभावकारी ढङ्गले राहत वितरण र उद्धारको काम गर्नुपर्थ्यो, सकेन । यो अत्यन्त दुःख र बिडम्बनाको कुरा हो । देश विदेशबाट धेरै राहत आएका छन्, ती कहाँ गए ?’, सरकारमाथि प्रश्न उठाउँदै  उनले भने, ‘प्रभावित क्षेत्रमा राहत पुग्नुपर्ने ठाउँमा नेताहरूको मात्रै लर्को भयो । राहत केही पुगेन ।’

प्रभावित जिल्लामा चिसो बढेकाले  तत्काल पीडितहरूलाई राहत, त्रिपाल, लत्ताकपडाको व्यवस्था गर्न उनले सरकारसँग माग गरे । 

२०७२ को भूकम्पबाट पाठ सिकेर सरकारले पहिल्यै देखि नै बजेटमा व्यवस्था गर्न सरकार चुकेको उनको भनाइ थियो । उनले पहाडी र तराई क्षेत्रमा जति पनि परम्परागत घर बनेका छन्, ती घरहरूलाई भूकम्प प्रतिरोधी बनाउर्नेमा जोड दिए । यसलाई  अभियानकै रूपमा सरकारले आगामी दिनमा योजना नबनाए भूकम्पले  ठुलो जनधनको क्षति व्यहोर्ने  उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस