लघुवित्त संंस्थामा समस्या चुलियो: राष्ट्र बैंक

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १९ : ३५
लघुवित्त संंस्थामा समस्या चुलियो: राष्ट्र बैंक

काठमाडौं । लघुवित्त संस्थाहरुमा समस्या बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको समस्या र समाधान सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । प्रतिवेदनमा भनिएको छ- विगत केही वर्षयताको तीब्र बिस्तार पछि हाल नेपालका लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न समस्या एवम् प्रश्नहरूको सामना गरिरहेका छन् ।

मूलतः लघुवित्त वित्तीय संस्थाले नाफामा मात्र जोड दिई लक्ष्य विचलनको अवस्था सिर्जना भएको, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर संस्थागत सुशासन, बहुबैंकिङ्गसँगै ग्राहकमा अत्यधिक ऋणको अवस्था, कर्मचारीलाई तालिमको अभाव, ग्राहक दुव्र्यवहार र संरक्षणमा समस्या, सुगम क्षेत्रमा मात्र केन्द्रित रही दुर्गममा अझै पहुँचमा कमी, लघुवित्तको मोडलमा समस्या जस्ता मुद्दाहरू अगाडि आएका छन् ।

मिटरब्याजीसँग सम्बन्धित आन्दोलन र सोसँग लघुवित्तको तुलना गरिनु, सहकारीहरूमा आएको समस्या, ऋण नतिर्ने अभियान र यसको राजनीतिकरण जस्ता घटनाक्रम तथा आर्थिक गतिविधिमा आएको शिथिलताले विद्यमान समस्यालाई थप बल पु¥याउँदा समग्र लघुवित्त वित्तीय संस्थाहरू दबाबमा रहेको प्रतिवेदनमा उल्लेख छ । लघुवित्त क्षेत्रमा विद्यमान समस्याको समाधान एवम् सुधार गर्न नेपाल राष्ट्र बैंकले विभिन्न नीति, निर्देशन तथा उपायहरू अवलम्बन गर्दै आएको छ । ब्याजदर सीमा, लाभांश वितरणमा सीमा, गाभ्ने/गाभिने सम्बन्धी नीति जस्ता विविध नियामकीय व्यवस्था यसका उदाहरण हुन्, राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस