स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ दरबन्दी थप

सफल खबर संवाददाता

विहीबार, १४ जेठ २०८३, २० : ०५
स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ दरबन्दी थप

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत संघीय तहमा ९७७ दरबन्दी थप गरिएको छ। नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत भएसँगै स्वास्थ्य क्षेत्रमा कुल दरबन्दी संख्या १ हजार ८०८ पुगेको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गर्दै आवश्यक दरबन्दी विस्तार गरेको हो। यसअघि मन्त्रालयमा ८३१ दरबन्दी कायम रहेको थियो।

स्वीकृत दरबन्दी संरचना सम्बन्धित मन्त्रालयमा पठाइसकिएको र ती पदहरूमा लोक सेवा आयोगमार्फत क्रमिक रूपमा पदपूर्ति प्रक्रिया अघि बढाइने तयारी गरिएको जनाइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत दरबन्दी कार्यान्वयनको प्रक्रिया अघि बढाइसकेको जनाएको छ। मन्त्रालयका अनुसार संघीय पुल प्रणालीअन्तर्गत जनशक्ति व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यो संरचना लागू गरिएको हो।

स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार दरबन्दी विस्तार मुख्यतः विशेषज्ञ चिकित्सकहरूको क्षेत्रमा केन्द्रित गरिएको छ, जसले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस