काठमाडौँ । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले ४२ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणाली प्रयोग गरी बजारबाट रकम खिच्न लागेको जनाएको छ। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप साढे ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन तथा ब्याजदर सन्तुलन कायम गर्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाजस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।
यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। बोलकबोलका क्रममा न्यून ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिने जनाइएको छ।
निक्षेप संकलनका लागि अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ भने ब्याजदर प्रतिस्पर्धात्मक प्रस्तावका आधारमा निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार उक्त उपकरणको साँवा तथा ब्याज २०८३ असार १० गते भुक्तानी गरिनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने प्रावधान राखिएको छ।
राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा ६ महिनासम्मका निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार केन्द्रीय बैंकले पछिल्लो समय पटक-पटक बजारबाट तरलता खिच्ने नीति अवलम्बन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव