प्रधानमन्त्री प्रचण्ड र ओलीबीच टीआरसी विधेयकबारे छलफल

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, २० : २४
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच टीआरसी विधेयकबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस १२ कात्तिकमा नेपाल आउने तय भएको छ । उनले १४ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले त्यसअघि नै टीआरसी विधेयकलाई अघि बढाउन चाहेका छन् ।

भदौ अन्तिम साता संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन गएका प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यस अगाडि नै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पारित गर्ने प्रयास गरेका थिए । तर सहमति जुटेन ।

कानुन न्याय तथा मानव अधिकार समिति अन्तरगतको उपसमितिले सहमतिका आधारमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन तयार पारेको छ । त्यसमा केही विषय भने शीर्ष नेताहरुले टुङ्ग्याउनुपर्ने छ ।

शुक्रबार भएको भेटमा पनि टीआरसी विधेयक लगायतका विषयमा छलफल भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस