राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति महिला हत्या आरोपमा पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, ०८ : ०३
राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति महिला हत्या आरोपमा पक्राउ

काठमाडौ । राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिला हत्या आरोपमा पक्राउ परेका छन्। 

मंगलबार बिहान मुसिकोट नगरपालिका– १ खलङ्गाको सत्कार होटलमा मृत फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन्।

घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर होटलको कोठामा सिरकले छोपेको अवस्थामा मंगलबार बिहान भावनाको शव फेला परेको थियो। 

घटना अनुसन्धानका क्रममा लोकबहादुर भावनाको हत्यामा संलग्न रहेको पाइएपछि ३३ वर्षीय विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए। मृतक महिलाका पति वैदेशिक रोजगारीमा छन्।

मंगलबार साझ खलंगास्थित डेराबाटै लोकेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो।  उनले भावनाको हत्या गरेको स्वीकार गरेका डीएसपी भट्टराईले बताए। 

‘उनीहरुबीच प्रेम सम्बन्ध रहेको देखिन्छ। महिलाले बिहे गर्न प्रस्ताव गरेपछि हत्या गरेको वयान लोकेन्द्रले दिएको छ,’ डीएसपी भट्टराईले भने, ‘महिलाले विवाह गरौं भन्दा विवाद बढेपछि आवेशमा आफैसँगै रहेको छुरी प्रहार गरी हत्या गरेको उसले स्वीकारेको छ।’

असोज २८ गते लोकेन्द्र र भावनाले पतिपत्नी उल्लेख गरेर होटलको कोठा बुक गरेका थिए। मंगलबार बाहिरबाट ढोका बन्द भएको देखेर शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। ताला खोलेर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले तालिमप्रप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोकेन्द्र दोषी देखिएका डीएसपी भट्टराईले बताए।

लोकबहादुर बहुविवाह मुद्दामा जेल परेका थिए। रुकुम पश्चिम जिल्ला अदालतले उनलाई ११ महिना कैद तोकेको थियो। उनकी पहिली पत्नी वैदेशिक रोजगारीमा गएपछि उनले दोस्रो विवाह गरेका थिए। 

बहु विवाह मुद्दामा ६ महिना कैद भुक्तान गरेका लोकबहादुरलाई गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले सजाय माफी दिएको थियो। 

कारागारमा रहँदा पनि भावनाले लोकेन्द्रलाई भेट्न जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुबचि अनैतिक सम्बन्ध र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र लोकबहादुरको मोबाईल समेत बरामद गरेको छ। 

प्रहरीका अनुसार भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका क्षेत्रमा खटिएकी थिइन्। सानीभेरी ९ सिम्लीमा लोकबहादुरले होटेल सञ्चालन गरेका थिए। सोही होटलमा म्यादी प्रहरीले खाना खाने क्रममा उनीहरु नजिकिएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस