काठमाडौँ । कोशी प्रदेशमा नेपाली कांग्रेसमा भएको विद्रोह २०५१ सालयताको सबैभन्दा ठूलो हो । २०५१ सालमा नेपाली कांग्रेसमा कोइराला परिवारका विरुद्धमा विद्रोह भएको थियो । तर, यसपटक कोइराला परिवारका सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाका विरुद्धमा विद्रोह गरेका छन् ।
डा. शेखरको आडमा नेपाली कांग्रेसका नेता केदार कार्कीले नेकपा (एमाले) को समर्थन जुटाएर सरकार गठन गरे । कांग्रेस र एमालेका एक एक जनालाई मन्त्री बनाएर सपथ ग्रहण पनि गरे । योसँगै संघ र अरू प्रदेशमा विपक्षमा रहेको एमाले कोसीमा ‘किङ मेकर’ बन्ने हो कि भन्ने आशंका कांग्रेसवृत्तमा पनि देखिएको छ । वर्तमान गठबन्धन बनेको बेला कोशीको मुख्यमन्त्री कांग्रेसका भागमा परेको थियो ।
कांग्रेसले प्रदेश सभाको संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनायो । विडम्बना, थापाले गठन गरेको मन्त्रिपरिषद् दुई पटकसम्म असंवैधानिक ठहरियो । तेस्रो पटक पनि फेरि कांग्रेसको केन्द्रीय नेतृत्वले थापालाई नै मुख्यमन्त्री बनाउने निार्णय गरेपछि कांग्रेसमा यो विद्रोह भएको हो । यसपटक सम्भवतः थापा वा अर्को कुनै कांग्रेसलाई नै उम्मेदवार बनाइएको भए केदार कार्कीले मुख्यमन्त्री पदमा यसरी दाबी पनि गर्ने थिएनन् होला । यद्यपि, थापाको सरकार असंवैधानिक ठहर हुने बित्तिकै विकल्प खोजेको भए राजनीतिक नैतिकता पनि देखिने थियो । र, त्यस अवस्थामा स्वाभाविकरूपमा कार्कीको नाम आउन सक्थ्यो ।
कसरी भयो विद्रोह ?
कुनै बेला भन्ने गरिन्थ्यो विराटनगरले सोचेको पर्सिपल्ट मात्र त्यो कुरा काठमाडौंले बुझ्छ भनेर । राजनीतिक विद्रोह विराटनगरको पहिचान नै हो । गिरिजाप्रसाद कोइराला बाँच्दासम्म पनि नेपाली राजनीतिको वास्तविक केन्द्र विराटनगरै भएजस्तो लाग्थ्यो । जटिल राजनीतिक निर्णय लिन गिरिजाबाबु विराटनगर जो पुग्थे । अहिले सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले विराटनगरको त्यो चेतलाई बुझ्न सकेनन् ।
र, अर्का नेता शेखर कोइराला निकट केदार कार्कीलाई मुख्यमन्त्री बन्न नदिने खेलमा लागे । थापाका पक्षमा समर्थन नजुट्ने देखेपछि देउवा र सिटौला कोइराला निकट कार्कीभन्दा माओवादी नेता इन्द्र आङ्बो मुख्यमन्त्री बनाउन तम्से । कोशी प्रदेश सभामा पनि कसैको बहुमत छैन ।
प्रदेश सभामा नेकपा (एमाले) का सबैभन्दा धेरै ३९ सदस्य छन् भने त्यसपछि नेपाली कांग्रेसको २९ जना । नेकपा (माओवादी केन्द्र) का १३ जना छन् भने अरू दलका पनि केही छन् । राप्रपाले साथ दिए पनि एमालेलाई बहुमत पुग्दैन थियो । खासमा विद्रोहको जग त्यही हो । कोशीमा एमालेले एउटै तीरले धेरै शिकार गरेको छ । गठबन्धनभित्र चिसो अविश्वासको बिउ रोपिदियो । कांग्रेसमा दुई चिरा त पहिलेदेखि नै थियो तर गुटबन्दी झन् बलियो बनाइदियो ।
मीनेन्द्रको महत्व र गगनलाई धक्का
नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले एक्लै केन्द्रीय सदस्यमा मनोनित गरेका नेता हुन् डा. मिनेन्द्र रिजाल । उनी डा. शेखर कोइरालाको समूहबाट महामन्त्री पदको उमेदवार बनेका थिए । तर, पराजीत भए । महामन्त्रीमा दुई युवाहरू गगन र विश्वलाई दाउ लाग्यो । तर, त्यो महाधिवेशनमा वाजी मारेका दुई महामन्त्रीलाई नराम्रोसँग मीनेन्द्रले धक्का दिएका छन् । कोशी विद्रोहको रणनीतिकार नै डा. मीनेन्द्र हुन् ।
उनले नै केपी ओलीसँग वार्ता गरेर कोशीमा परिणाम निकालेका हुन् । सभापति शेरबहादुर देउवासँग विद्रोह गर्ने भन्ने महामन्त्री गगन थापालाई डा. मीनेन्द्रको रणनीतिले नराम्रो धक्का लागेको छ । डा. मीनेन्द्रको सुझबुझपूर्ण कदमका कारण डा. शेखरले केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि अहिलेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको पनि विश्वास जितेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर नै मीनेन्द्रको हस्तलिखित चिर्कटोमा प्रचण्ड, देउवा र डा. शेखरको हस्ताक्षर गराए । प्रचण्डलाई गठबन्धन नभत्किने विश्वास दिलाए । मीनेन्द्रले हातले लेखेको सहमतिको चिर्कटोमा अघिल्लो दिन नै हस्ताक्षर भइसकेको थियो ।
तर, त्यो डा. मीनेन्द्र रिजालसँग मात्र थियो । डा. मीनेन्द्रले प्रचण्डलाई विश्वासमा लिएर कोशी प्रदेश प्रमुखकोमा प्रदेशसभा सदस्यलको सनाखत भएपछि मात्र सार्वजानिक भयो । त्यो भन्दा पहिलो नै प्रचण्डले केदार कार्की गठबन्धनको उम्मेदवार भएको सार्वजनिक रुपमा भनिसकेका थिए । यसले गर्दा अहिलेको गठबन्धनमा र डा. शेखर कोइराला समूहमा डा. मिनेन्द्रको महत्व उचालिएको छ भने यो प्रकरणबाट महामन्त्री गगन थापालाई भने धक्का लागेको छ । कोशी विद्रोहपछि डा. शेखरलाई एक्ल्याउने रणनीतिमा लागेका गगन थापालाई डा. शेखर कोइरालाले सभापति देउवा र प्रधानमन्त्री प्रचण्डसँग गरेको सहमतिले धक्का लागेको छ । थापाको रणनीतिलाई अहिले कांग्रेसभित्र केटौले रणनीतिका रुपमा व्याख्या गर्न थालिएको छ ।
अब के हुन्छ ?
कोशीको विद्रोह पनि प्रदेशका सरकार र केन्द्रको सरकार के हुन्छ ? नयाँ गठबन्धन बन्छ कि के हुन्छ ? संसदको आयु नै के हुन्छ ? भन्ने अवस्थामा पुगेको थियो । तर, तत्कालका लागि कोशीमा बाहेक अन्यत्रका सरकारहरू परिवर्तन नगर्ने भित्री सहमति डा. शेखर कोइरालाले गरिसकेका छन् । डा. शेखरलाई पार्टीभित्र सम्मानजनक स्थान दिने विषयमा समेत प्रचण्ड देउवा र डा. शेखरबीच भएको सहमतिमा देउवाले प्रतिवद्धता जनाइसकेका छन् ।
जुन विषयमा साक्षीका रुपमा प्रचण्ड र डा. मीनेन्द्र रहेका छन् । मन्त्रिमण्डल गठन हुँदा डा. शेखरलाई एउटा मन्त्रालय थप गरिदिने र एउटा विकासे मन्त्रालय दिने भित्री सहमति भएको छ । त्यस्तै कोशीको सरकारमा सुरुमा सहयोग गरे अनुसार एमालेलाई सरकारमा सहभागी गराउने, पछि मुख्यमन्त्रीले कोशी प्रदेश सरकारलाई सहमतिको सरकार बनाउने प्रस्ताव गर्ने र एमालेले सहमतिको सरकार बनाउन नमानेको अवस्थामा एमालेलाई सरकार बाहिर पु¥याउने सहमति भएको छ ।
यो सहमतिको खाका डा. मिनेन्द्र रिजालसँग रहेको डा. शेखर निकट एक नेताले जानकारी दिए । कांग्रेसको भित्रको यो विद्रोहको सेटलमेन्ट सवै प्रधानमन्त्री प्रचण्डका कारण भएकाले पनि अब केन्द्रमा दाहालको सरकार र प्रदेशमा कुनै सरकारलाई यो विद्रोहले कुनै असर नगर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग