घुस लिएको आरोपमा झापामा नापीका कर्मचारीसहित २ जना समातिए

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, ०८ : १६
घुस लिएको आरोपमा झापामा नापीका कर्मचारीसहित २ जना समातिए

काठमाडौ । सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार समातेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट समातिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो ।

भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरू पक्राउ परेको प्रवक्ता दाहालले बताए ।