सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : सांसद झा

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, ०८ : ३७
सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : सांसद झा

काठमाडौँ । सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । 

राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट समानुपातिक सांसद बनेका झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्छन् ।

उनी सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्छन् । सांसद झा सदनमार्फत सार्वजनिक महत्वका विषयमा जनतालाई सुनाउनका लागि मात्रै बोल्नेभन्दा पनि नीतिगत तहमा कसरी प्रभाव पार्ने भन्ने उद्देश्य लिएर अभ्यास गर्नुपर्ने भनाइ राख्छन् । उनी सदनमा केही सांसदले भाषण गर्दा ‘असीमित समय’ पाउने अभ्यासप्रति पनि असहमत छन् ।

“अहिले पनि पूर्वप्रधानमन्त्री सदनमा आउनुहुन्छ र साढे तीन घण्टासम्म भाषण गरेर जानुहुन्छ । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन”, उनले भने, “एक जना सांसदले त भाषण सकिएपछि उहाँले के बोल्नुभयो भनेर अर्को सांसदले सोधेको घटना पनि छ ।” 

स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका झासँग विज्ञापन, व्यवस्थापन, नीति र बजार अनुसन्धानका क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । संसदीय अभ्यासलाई बाहिरबाटै नियालिरहेका उनले आफूसँग १० महिनाअघि सांसद हुँदै गर्दा धेरै हौसला, जिम्मेवारी र काम गर्ने चाहना भएको  सुनाए । “गत वर्ष पुस ७ मा सांसदका रुपमा सपथ लिँदै गर्दा धेरै काम गर्छु भन्ने लागेको थियो । सबैतिरबाट प्राप्त हौसलाले आफ्नो जिम्मेवारी बढेको महसुस भएको थियो”, उनले भने, “त्यसको केही समयमै देखिएको राजनीतिमा बदलिँदो समीकरणले उत्साहले मलजल पाएन ।”

सांसद झा विधायिकामा अध्ययन र विषयप्रतिको चिन्तनमा कमी भएको देख्छन् । “सांसदहरु त सबैका लागि रोल मोडल बन्न सक्नुपर्ने हो, केही उदाहरणीय सांसद पनि हुनुहुन्छ तर त्यो सङ्ख्या निकै कम छ”, उनले भने, “त्यो सङ्ख्या दुई सय ७५ मा २५ मात्रै होला ।” उनी केही सांसदहरु होहल्ला गर्ने, साइड टक गर्ने, हाजिर गरेर लबिमा बस्ने, चिया खाने र गफ मात्रै गर्ने र आफ्नो नेताले जे बोले पनि टेबुल ठोकिहाल्ने जिम्मेवारीमा मात्रै सीमित भएकामा विमति राख्छन् ।

कुराकानीका क्रममा जनताका प्रतिनिधिलाई पनि सदनमा ‘असाइनमेन्ट’ दिने अभ्यास सुरु गर्नुपर्ने धारणा राखे । जनताले आफ्नो अमूल्य मत दिएकाले त्यसको सम्मानका लागि पनि सांसदमा पर्याप्त अध्ययन र असाइनमेन्ट जरुरी भएको उनको तर्क छ । “सांसद बन्नु र कुनै विषयमा गहनरुपमा जानकार हुनु फरक हो, सांसदले आफूले कुनै विषयमा नीतिगत तहमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनैपर्छ”, उनले भने । 

सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका सांसद झाले समितिको असल अभ्यास सदनमा समेत लागू गर्नुपर्ने उनले बताए । “संसदीय समितिका बैठकमा म पार्टी बिर्सिन्छु । सङ्घीय सदनको पूर्ण बैठकमा पनि हामीले दल बिर्सनुपर्छ, दलका नेता बिर्सिर नीति सम्झनुपर्छ”, उनले भने, “सदनमा पनि कुनै विषयमाथि घनिभूत छलफल र अभ्यास गर्न पाए मात्रै सदनलाई प्रभावकारी बनाउन सकिन्थ्यो ।” 

प्रतिक्रिया दिनुहोस