गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, ०९ : ३८
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

File pic

पाल्पा । पाल्पाको ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो। 

पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउाछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा। 

‘जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्’, उनले भनिन्। 

उनले आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँदा गाउँका बारी बाँझिन थालेकोमा चिन्ता व्यक्त गर्छिन्। 

‘हाम्रो पालामा जान्ने बुझ्ने उमेर भएदेखि नै गाउँघरमा कोदो रोप्ने कार्यमा सहभागी भइन्थ्यो, अहिलेका पुस्तालाई कोदो के हो? भन्ने नै थाहा हुनै छाड्यो,’ उनले भनिन्, ‘गाउँको आफ्नै हातले उब्जाएको पोषिलो कोदो सेवनले शरीरलाई तागत दिन्थ्यो।’ 

उनले उमेरले बुढ्यौलीपन टेके पनि दुःखसुखले अझैपनि थोरै भए पनि कोदो लगाउन भने छाडेकी छैनन् । आफूले परम्परादेखि नै गर्दै आएको खेती आफ्ना सन्ततिले गर्न छाडे पनि उनले थोरै जग्गामा भए पनि निरन्तर गरिरहेकी छन्। 

गाउँघरमा पाका पुस्ताको मात्र बसोबास, खेती गर्न झण्झटले कोदो लगाउन छाड्दै गएको पाइन्छ । पाल्पामा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा जिल्लामै यसको खेती कम मात्रामा गरिन्छ । कोदो फल्ने ठाउँमा नै किसानले खेती गर्न छाडेपछि अहिले  बीउ जोगाउनका लागि पाका पुस्ताले निरन्तरता दिएका छन् । युवापुस्ताको यसप्रति आकर्षण देखिँदैन।

दश वर्षअघिसम्म जिल्लाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । गाउँका बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले  गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको किसान बताउँछन् । पहिला–पहिला गाउँघरमा प्रशस्त कोदो उत्पादन गरेर चामलसँग साट्ने चलन थियो । वर्ष दिनभर कोदोबाट चामल साटेर गुजारा चलाउने गरे तापनि हिजोआज व्यवसायीकरण रुपमा खेती गर्न छाडिएको छ। 

अन्य कृषि बालीको तुलनामा कोदो खेतीलाई धेरै लगानी र मेहनत गर्नु नपरे तापनि किसान आफैँले खेती गर्न रुचि नदेखाउँदा अहिले व्यवसायीकरण हुन छाडेको रामपुर–१ कुमैडाँडाका अर्का कृषक गोवर्द्धन वंशी बताउँछन्। 

उनले कम्तीमा बर्सेनि चारदेखि पाँच मुरीसम्म कोदो उत्पादन गर्ने गरेकोमा अहिले मुस्किलले आठरदश पाथी उब्जाउ हुने गरेको बताए।

प्रतिक्रिया दिनुहोस