नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री किराँती

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १५ : २०
नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री किराँती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल युरोपेली सङ्घ (ईयू)को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किरातीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे ‘अडिट’ गरेर गएकाले नेपाल ईयूको सुरक्षा सूचीबाट हट्नेमा विश्वास व्यक्त गरे।

“नेपालको हवाई क्षेत्र ईयूको सुरक्षा सूचीबाट चाँडै हट्नेछ । यही सेप्टेम्बर ११ देखि १५ सम्म ईयूको टोलीले अडिट गरेर गएको छ ।प्राधिकरण विभाजनसम्बन्धी विधेयक पनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषद्मा गएको छ”, पर्यटनमन्त्री किराँतीले भने । ईयूको प्राविधिक टोलीले ‘अनसाइड अडिट’ गरेर गएको प्राधिकरणले जनाएको छ ।

 

ईयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो ।सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।

नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले ईयूको कालोसूचीबाट हट्ने मन्त्री किरातीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस