म्याग्दी । पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी-जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी-जोमसोम सडकअन्तर्गत विभिन्न चार ठाउँमा सडक अवरुद्ध बनाएको हो ।
वर्षासँगै सडकभन्दा माथिबाट खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरी, कुलौटे, अन्नपूर्ण–२, नैनीबगर र ३ नम्बर वडा दानाको गुइँठेमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यसैगरी बेनी–दरबाङ सडक खण्ड पनि दुई ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको छ । बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, घुमाउनेभीर र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा सडक अवरुद्ध भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरु, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक, कर्मचारीलगायत समस्यामा परेका छन् ।
पहिरोकै कारण मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको छ । अहिले सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्किएका गाडीहरु बीच सडकमै रोकिएका छन् । वर्षा रोकिएपछि मात्रै सडक मर्मत गरेर खुलाइने प्रहरीले जनाएको छ ।
म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म कुल ७६ किलोमिटर दूरी रहेको यस सडक खण्डको म्याग्दी खण्डअन्तर्गत विभिन्न ठाउँमा सडक स्तरोन्नतिको कार्य अहिले पनि भइरहेको छ । उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको बेनी–जोमसोम–कोरला सडक खण्ड गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ ।
त्यस्तै, पश्चिम म्याग्दीको मङ्गला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम र म्याग्दी जोड्ने दुई जिल्ला बेनी–दरबाङ सडक म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडक खण्ड पनि वर्षातको समयमा पटकपटक अवरुद्ध हुँदै आएको छ ।
यस सडक खण्डको पनि विभिन्न ठाउँमा सडक स्तरोन्नति र विस्तारको काम हुँदै आइरहेको छ । वर्षाकै कारण म्याग्दी सदरमुकामदेखि ग्रामीण जोड्ने सडक पनि हिलाम्मे भएका छन् । वर्षाले सडक अवरुद्ध बनेपछि यात्रु तथा नागरिकले सास्ती बेहोरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ असोज २०८०, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
कर्णाली राजमार्ग पुनः अवरुद्ध
वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
पर्यटकीय स्थल सैलुङ जाने सडक पहिरोले अवरुद्ध
पहिरोले कान्ति लोकपथ अवरुद्ध