कैद मिनाहा कानुन अनुसार नै दिइएको कार्यवाहक प्रधानमन्त्रीको दाबी

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, २० : ३१
कैद मिनाहा कानुन अनुसार नै दिइएको कार्यवाहक प्रधानमन्त्रीको दाबी

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् ।काँग्रेसका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरूको नाम नलिईकन संविधानसम्मत भएको दाबी गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन कैद सरकारले कैद छुट दिएका व्यक्तिको विषयमा प्रश्न उठाएपछि खड्काले जवाफ दिएका हुन् ।

संविधान दिवसको दिन तरुण दलका पूर्व नेता योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल र काँग्रेसप्रति प्रश्न उठेको थियो ।कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले संविधान, ऐन, नियमलाई टेकेर राष्ट्रपति समक्ष सिफारिस गरेको बताए । मुद्धा माफीका जति पनि निर्णय भएका छन्, संविधानले दिएको सुविधा भन्दा बाहिर केही पनि नभएको उनको दाबी छ ।

‘यति प्रतिशत जेल सजाय भोगिसकेपछि जेलमा त्यो कैदीले गरेको व्यवहार, उसको बानी ब्यहोरामा आएको सुधारमा जेलरले गरेको सिफारिसका आधारमा जाने एउटा प्रक्रिया छ,’ खड्काले बैठकमा भने ।

उनले अगाडि भने, ‘आममाफीको बन्दोबस्तको कुरा एउटा छ । र, नियमित तरिकाले कानुन र संविधानले दिएको छुट अनुसार यति समय जेल सजाय भोग्यो भने चालचलन अनुसार छुट्ने व्यवस्थाहरू छन्’, सरकारको निर्णयको बचाउमा उनले भने, ‘अहिले ५/६ सय ले जेल सजाय मिनाहा पाएका छन् । त्यो सबै ऐन र नियमले दिएको सुविधा अन्तर्गत भएका हुन् ।’

प्रतिक्रिया दिनुहोस