सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १२ : ४६
सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सुनसरी। सुनसरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत छन् ।

श्रीमती निकिता चौधरीको गत शनिवार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगतमाथि छ ।

उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ । 

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । 

थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ । 

उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जीउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस