पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, ०७ : ०१
पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ । श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्‍यो ।

निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।

वर्षाका कारण खेल ४२—४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

श्रीलङ्काका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे । उनले केवल ८७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । सदिरा सामराबिक्रमाले पनि टोलीका लागि ४८ रनको योगदान गरे । उनले ५१ बलमा चार चौका प्रहार गरे । यी दुई ब्याट्सम्यानले एक सय रनको साझेदारी गरेका थिए ।

श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने । उनले अविजित ४९ रन बनाए । उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । ओपनर पाथुम निसानकाले २९ रन बनाए । अर्का ओपनर कुशल परेरा पनि १७ रनमै पेभेलियन फर्किएका थिए । 

कप्तान दुसान सानका भने दुई रनमै आउट भए । धनन्जय डा सिल्भा पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किए । दुनिथ वेल्लालागे ‘डक आउट’ भए । प्रमोद मदुसन पनि एक रन बनाउँदै पेभेलियन फर्किए । पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निर्णय लिएको पाकिस्तानले पालीको खराब सुरुआत गरेको थियो । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामन चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

अर्का ओपनर अब्दुल्लाह सफिकले भने टोलीका लागि ५२ रनको योगदान गरेका थिए । उनले ६९ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । पाकिस्तानको पाली भने चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले समालेका थिए ।

विकेटकिपर ब्याट्सम्यान रिजवानले टोलीका लागि अविजित ८६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको रिजवानले केवल ७३ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए । रिजवान र इफ्तिखार अहमदले टोलीका लागि एक सय आठ रनको साझेदारी गरे । 

इफ्तिखार अहमले ४०।३ ओभरमा आउट हुनुअघि ४७ रन बनाए । उनले केवल ४० बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले टोलीको खातामा २९ रन थपेका थिए ।

कप्तान आजमले ३५ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । मोहम्मद नवाजले १२ बलमा दुई चौकाको मद्दतले १२ रन बनाए । मोहम्मद ह्यारिस तीन रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानले अतिरिक्त रुपमा १५ रन पाएको थियो । 

सदाब खान पनि तीन रनमा आउट भए । साहिन शाह अफरिदी एक रनमा अविजित रहे । श्रीलङ्काली टोलीका बलर मथिसा पाथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले पनि दुई विकेट हात पारे । महिस थिकसना र दुनिथ वेल्लालागेले एक—एक विकेट लिए ।