एसिया कप : पाकिस्तान र श्रीलंका भिडदै, फाइनलमा पुग्न जित्नै पर्ने दबाब

एजेन्सी

विहीबार, २८ भदौ २०८०, ०९ : ३३
एसिया कप : पाकिस्तान र श्रीलंका भिडदै, फाइनलमा पुग्न जित्नै पर्ने दबाब

एजेन्सी । जारी एसिया कप क्रिकेटको फाइनलमा पुग्न आज पाकिस्तान र श्रीलंका जित्नैपर्ने खेल खेल्दैछन् । सुपर ४ को खेल जसले जित्यो उसैले फाइनलमा भारतसँग भिडन्त गर्नेछ ।

भारत भने सुपर ४ मा पाकिस्तान र घरेलु टोली श्रीलंकालाई पाखा लगाउँदै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । 

आज कोलम्बोस्थित प्रेमदासामा पाकिस्तान र घरेलु टोली उत्रँदा दुवै स्पष्ट जितको खोजीमा हुनेछन् । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । 

समूह ‘ए’मा रहेको सहआयोजक पाकिस्तानले सुपर ४ मा आइपुग्न नेपाललाई पराजित गरेको थियो भने भारतसँग अंक बाँडेको थियो । खेल वर्षाले बिथोलिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । 

अर्कोतिर श्रीलंकाले भने समूह ‘बी’का दुवै खेल जितेको थियो । उसले बंगलादेश र अफगानिस्तानलाई हराएको थियो ।

विगतको इतिहास हेर्ने हो भने एकदिवसीय (ओडीआई) खेलमा श्रीलंकामाथि पाकिस्तान हाबी छ । 

४८ वर्षको प्रतिद्वन्द्वीतामा यी दुई टोलीले १५५ वटा ओडीआई खेल खेलेका छन् । जसमा पाकिस्तानले ९२ वटा खेल जितेको छ । यस्तै श्रीलंकाले ५८ खेलमात्र जितेको छ । चार खेलमा भने नतिजा आएर बराबरी भएको छ ।