महानगरपालिका, विरामी र अस्पताल दुवैका लागि सरकार हो, दुवैलाई बचाउँछ : बालेन शाह

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, २० : ३४
महानगरपालिका, विरामी र अस्पताल दुवैका लागि सरकार हो, दुवैलाई बचाउँछ : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, महानगरपालिका, विरामी र अस्पताल दुवैका लागि सरकार भएको उल्लेख गर्दै दुवैका मर्का सुन्ने र दुवैलाई बचाउने धारणा राखेका छन् ।  लक्षित वर्गलाई अस्पतालहरुले उपलब्ध गराउनु पर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा सामुदायिक अस्पतालका सञ्चालक, व्यवस्थापक तथा प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा प्रमुख शाहले, यस्तो धारणा राखेका हुन् । 

कानुन बनाउँदा स्थानीय आवश्यकता र समस्या नहेरी अन्यत्रबाट सारेर ल्याउने पद्धतिका कारण कानुन कार्यान्वयनमा जटिलता भएको उल्लेख गर्दै उनले आफ्नै अवस्था र आफ्नै समस्यालाई हेरेर कानुन बनाउनु पर्ने र बनाइएका कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्ने बताए ।  
अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले स्वास्थ्य क्षेत्रका सेवाको पारदर्शिताका लागि महानगरले काम गरेको बताइन् ।। उपप्रमुख डंगोलले, क्षेत्रगत समन्वय र सुझावपछि महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई व्यवस्थित र प्रणालीमा आधारित बनाउने बताइन् । 
कार्यविधिमा अनुगमन मूल्याङ्कनलाई मार्ग निर्देश गर्न महानगरपालिकाका प्रमुखको संयोजकत्वमा व्यवस्थापन समितिको प्रस्ताव गरिएको छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनेछन् । 

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, वेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखेर निजी तथा सामुदायिक अस्पतालका सञ्चालकहरुसँग नीति पृष्ठपोषणका लागि छलफल गरिएको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस