बागमतीमा सभामुखले बोलाए सर्वदलीय बैठक

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १९ : ५५
बागमतीमा सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेश सभामा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन्।  दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेश सभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ। 

तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुने उनले बताए। असार २२ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन। 

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेश सभा बैठक पनि सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ।