भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, २० : २३
भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

काठमाडौँ । एसिया कप २०२३ को बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ। 

श्रीलंकाको पल्लेकेलेमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो।

भारतका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय इशान किसन र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। इशानले ८१ बलमा ८२ रन र पाण्ड्याले ९० बलमा ८७ रन जोडे। 

त्यसअघि ओपनरद्वय रोहित शर्मा ११ रन र शुभमन गिल १० रनमा आउट भए। रोहितलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले बोल्ड गर्दा गिललाई हरिस रउफले बोल्ड नै गरे। 

त्यस्तै विराट कोहलीलाई अफ्रिदीले बोल्ड गरेका थिए। श्रेयष अय्यरलाई रउफले फखर जमानबाट क्याए। यसरी पाकिस्तानले  १५ ओभर चल्दै गर्दा भारतका शीर्ष चार ब्याट्सम्याटको विकेट लिएको थियो। त्यतिबेला भारतले ६६ रन जोडेको थियो। 

त्यसपछि इशान र पाण्ड्याबीच पाँचौ विकेटका लागि १४६ रनको साझेदारी भयो।

बलिङमा पाकिस्तानका अफ्रिदीले ४ विकेट लिए भने नशीम शाहले ३ विकेट हात पारे। रउफले पनि ३ विकेट नै आफ्नो नाममा लेखाए।