सिरहामा बस्‍यो एमालेको सचिवालय बैठक

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १६ : ३४
सिरहामा बस्‍यो एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सिरहामा सुरू भएको छ ।एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित सर्रे अम्वासमा बुधवार दिउँसो बैठक सुरू भएको हो । बैठकमा पार्टीको मिसन ग्रास्रुट अभियानको समिक्षा गर्ने र केन्द्रिय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरुले बताएका छन् ।

 

मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो । बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गर्नेछ । अध्यक्ष ओलीले सो स्तम्भको शिलान्यास गर्ने एमालेले जनाएको छ ।सो ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्यसहितका मदन भण्डारी स्मृति विद्यालय, मदन भण्डारी पार्क निर्माण गर्ने पार्टीको योजना रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस