डोटी । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शरदसिंह भण्डारीले पार्टीको सर्भिसिङ्गका लागि ३ महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन् ।
‘हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो, तर केही समययता यो पार्टी पनि अन्य साधारण पार्टी जस्तै भयो’, बुधबार प्रेस सेण्टर, डोटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भने, ‘पार्टीमा फेरी क्रान्तिकारीपन ल्याउनका लागि सर्भिसिङ्ग गर्न लागिएको हो ।’
विशेष अभियानका क्रममा पार्टी कार्यकर्ता र जनतालाई उत्पादनसँग जोड्ने गरी प्रशिक्षित गरिने केन्द्रीय सदस्य भण्डारीले बताए ।पत्रकारहरुद्वारा सोधिएको एक प्रश्नको जवाफ दिँदै भण्डारीले माओवादी कार्यकर्ता बिलासी नभइ सामान्य जीवनशैली बिताइरहरेको दाबी गरे । उनले १ प्रतिशत नेता कार्यकर्ता विलासी भएको हुन सक्ने अनुमान गरे ।
पत्रकार सम्मेलनमा माओबादीका डोटी जिल्ला इन्चार्ज लक्षीराम आचार्यले विशेष रुपान्तरण अभियानका क्रममा जिल्ला ६ हजार ५०० नेता कार्यकर्ता परिचालन हुने बताए । ‘हामीले जिल्लालाई ६ कमाण्डमा बिभाजन गरेर ६ टोली बनाएका छौं’, आचार्यले भने, ‘६ वटै टोली तीन महिनासम्म आफ्नै कार्यक्षेत्रमा खट्नेछन् ।’
अभियान तीन चरणमा हुने आचार्यले बताए । पहिलो चरणमा ६५० पूर्णकालीन सदस्यहरु परिचालन भइ सदस्यता नवीकरण, कमिटी बैठक र आन्तरिक छलफल गर्ने, दोस्रो चरणमा जिल्लाका ६५ वटै वडाहरुमा ५ घण्टे प्रशिक्षण सञ्चालन गर्ने र तेस्रो चरणमा जनताको बिचमा जाने कार्यक्रम रहेको आचार्यले बताए ।
भदौ १६ गतेदेखि देशभरी सञ्चालन हुने अभियानका क्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री सातवटै प्रदेशका एउटा वडामा पुग्ने उनले बताए । सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकाको वडा नं. १६ मा पार्टी अध्यक्षले अभियानको कमाण्डिङ गर्ने उनले जानकारी दिए ।
अभियानका क्रममा पार्टी नेतृत्वमा रहेको बर्तमान सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियान, सुशासन र समृद्धिको पक्षमा सरकारले गरेका कामको विषयमा पनि जनतालाई जानकारी गराइने माओवादीका अर्का केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने
दुई बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ? भन्दै सरकारलाई माओवादीको प्रश्न
सरकारले सदनलाई हेपेको माओवादीको आरोप
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माओवादीको माग
संसद् खुलाउन एमाले र माओवादी केन्द्रबीच दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर