एक साताभित्रै विद्युत् विधेयक सङ्घीय संसद्मा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०८०, २१ : ०८
एक साताभित्रै विद्युत् विधेयक सङ्घीय संसद्मा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक साताभित्र विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गरिने बताएका छन् ।

मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पूर्णरूपमा पारित गरी मन्त्रिपरिषद्मा पेश गरिसकेको जानकारी दिँदै उनले यसै साताभित्र सो विधेयकले अन्तिम निष्कर्ष पाउने र सङ्घीय संसद्मा पेश हुने बताएका हुन् ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज यहाँ आयोजना गरेको कार्यक्रमा उनले सरकारले मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी काम गरिरहेको बताए । आन्तरिक बिजुली खपत बढाउनेदेखि प्रसारण तथा वितरण प्रणालीको निर्माणमा उत्तिकै ध्यान दिइएको उल्लेख गर्दै उनले समग्र विषयलाई एकीकृत कार्ययोजनाका साथ अगाडि बढाइएको स्पष्ट पारे । सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारेर ऊर्जा क्षेत्रको एकीकृत विकास गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए ।

“कुन कुन आयोजनाबाट कति मेगावाट बिजुली उत्पादन गर्ने त्यसको समगै्र तयारी गरिएको छ । ती आयोजनाबाट उत्पादित बिजुली प्रसारणका लागि निर्माण गरिने प्रसारण प्रणालीका साथै लगानीको स्रोतको पनि सुनिश्चित गर्न लागिएको छ”, मन्त्री बस्नेतले भने, “आन्तरिक माग र खपत बढाएर बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागिसमेत मार्ग प्रशस्त भएको छ ।”

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्रीका लागि सहमति भइसकेको जानकारी दिँदै उहाँले निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको योजना रहेको बताए ।