काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको आरोप लगाएका छन् ।शनिवार काठमाडौँमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उहाँले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन् ।
संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो । उनले भने, ‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदा हुँदा हिजो अस्ती त संसद्मा अरू सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी ।
राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौँ कि हामीले पनि केही गर्नुपर्छ । धेरै भलादमी पारेर हुँदैन । त्यसो हुनाले यो घिउ निकाल्नका लागि औँलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङ्गो नगरेर हुँदो रहेनछ । संसार नै त्यस्तै छ । यो सबै अवस्था हामीले देखिरहेका छौँ ।’अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उनले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताए । अध्यक्ष नेपालले नेकपा ब्युँताऊ भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्त्याएको दोहोर्याए । ‘समयसमयमा हामीले उठायौँ–मैले भने प्रचण्डजीलाई अब हामी पुरानो नेकपालाई ब्युँताऊँ । सङ्कीर्ण नबनौँ । मैले त्यो प्रस्ताव पठाए केपी ओली कहाँ । केपी ओलीलाई जब राष्ट्रपति पद पाउनेका लागि मतलब लागेको थियो, मसँग भेट्न खोजे । तर मलाई प्रस्ताव राखेनन् । अहिले के भन्छन्–मैले प्रस्ताव राखेको थिए ।
तर उनले राखेकै थिएनन् । प्रस्ताव राखेर पनि म मान्थे वा मान्दिन थिएँ । त्यो आफ्नो ठाउँमा छ । प्रस्ताव नै राखेको होइन । प्रस्तावलाई मैले स्वीकार गरेको भए शेरबहादुर कहाँ खबर जान्थ्यो । माधव नेपालले धोका दिँदैछन् । धोकेबाज हुन् उनी । पदको निम्ति मरिहत्ते गर्छन् भनिदिन्थे । यी सबै कतिपय कुराहरू विचार नगरीकन हाम्रा कतिपय कमरेडहरू भन्छन् नि–राष्ट्रपति पाएको छोडिदिनु भयो भन्छन्,’ उनले भने, ‘राष्ट्रपति पक्कै पनि प्रचण्डजीले मलाई प्रस्ताव गरेको हो ।
प्रचण्डजीले सबै बैठकमा मेरो नाम प्रस्ताव गरेकै हो राष्ट्रपतिमा । तर त्यो बेलामा काँग्रेसले के भन्यो भने सभामुख पाउने एमाले, राष्ट्रिय सभाको अध्यक्ष हुने एमाले, उपसभामुख पाउने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय सभाको उपाध्यक्ष हुने माओवादी अनि काँग्रेस सबैभन्दा ठुलो पार्टी भएको बेलामा केही पनि नपाउने ? अब त्यसमा पनि रामचन्द्रजीलाई कि राष्ट्रपति कि प्रधानमन्त्री हुनुपर्ने । प्रधानमन्त्री हुन शेरबहादुरसँग लडाई चलिराख्या छ । शेरबहादुरजीले बचन दिइसक्नुभएको छ रामचन्द्रजीलाई । म राष्ट्रपतिमा साँच्चै इच्छुक थिइनँ । किनभने विद्रोह गरेर पार्टी बनाइएको छ ।
म राष्ट्रपतिमा गए भने हामीलाई ल्याएर बाटोमै छोडिदिनु भयो भनेर मलाई नै आलोचना आउँछ भनेर मैले इच्छा व्यक्त गरिन । सबै कार्यकर्तालाई हरिबिजोग बनाएर राष्ट्रपति पदमा जानुहुँदैन भन्ने मलाई परेको थियो ।’अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु
विशेष अदालतमा माधव नेपालको बयान सुरु