संसद् खुलाउने विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, १५ : २६
संसद् खुलाउने विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौँ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक निष्कर्षविहीन सकिएको छ । प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दल तथा सत्तारुढ दलहरू बीच भएको छलफलमा संसद् खुलाउने विषयमा सहमति नजुटेको हो । 

आइतबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा संसद् खुलाउने विषयमा भएको छलफल सहमतिको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए।  बैठकपछि उनले भने– ‘जे जस्ता असमझदारीका कुराहरू थिए, ती कुराहरूमा छलफल भएर एकदम नजिक पुगेको हुनाले अब एउटा बैठकमा टुङ्ग्याउने गरी भनेर सम्भवतः भोलि बस्ने बैठकले टुङ्गोमा पुर्‍याउने र बटमलाइन सदन जसरी पनि खोल्ने भन्ने तहसम्म हामीले छलफल गरेका छौँ ।’

उनले आजको प्रतिनिधिसभा बैठक स्थगित हुनसक्ने बताएका छन् । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानले गति लिएको र समानान्तर ढङ्गले छानबिन समिति बनाउँदा त्यसमा अवरोध हुन्छ कि भन्ने कुरा राखेका थिए । गृहमन्त्रीले मागेको समय १५ दिन बाँकी रहेकोले अब त्यति दिन पर्खने कि भन्ने कुरा भएको सभापति लामिछानेले बताए । 

भइरहेको अनुसन्धानलाई प्रभावित नगर्ने भन्ने कुरा आफूले बैठकमा राखेको उनले बताए । उनले आफ्नो दलको लाइन छानबिन समिति बनाए पनि वा नबनाए पनि संसद् भने खुलाउनुपर्ने धारणा रहेको बताए । उनले भोलिको बैठकले यसलाई टुङ्ग्याउने विश्वास लिएको उनले बताए ।

तस्करीको सुन अनुसन्धानको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । संसद् खुलाउनका लागि विभिन्न समयमा भएका बैठकहरू असफल हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस