काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएर कार्यकालको प्रावधान कायम राखेको छ । विधान अधिवेशनबाट जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो । विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन भन्ने उल्लेख थियो ।
साउन २५ गते निर्वाचन आयोगले अभिलेखन गरिएपछि कार्यान्वयनमा आएको सो विधानमा धारा ८६ को उपधारा (१) लाई हटाइएको छ । विधानमा यसअघि राखिएको कार्यकाललाई कायमै राखिएको छ । एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान कायम राखिएको हो ।
धारा ८६ मा पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश, राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरिसकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ ।
उमेर हद कायम रहेको भए पार्टीका अध्यक्ष उपेन्द्र यादव सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने थियो । अध्यक्ष यादव ६३ वर्षका छन् । विधानमा ७० वर्षपछि पार्टीको केन्द्रीय समितिका लागि योग्य नहुने प्रस्ताव गरिएको थियो ।
त्यस्तै, उमेर हद कायम रहेको भए पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले चार वर्षपछि पार्टीबाट अवकास लिनुपर्ने हुन्थ्यो । शिक्षा मन्त्रीसमेत रहेका अध्यक्ष राई ६६ वर्षका भए । उमेर हदको प्रावधान कायम रहेको भए पार्टीका शीर्ष नेताहरुले अवकाश लिनुपर्ने अवस्था आउने देखिएकाले त्यसलाई हटाएको बताइएको छ ।
उमेर हद राख्दा युवाहरु उत्साहित भएका थिए । तीन दिनसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हदको बारेमा व्यापक छलफल भएको थियो । सो छलफलमा अधिकांशले उमेर हदलाई समर्थन गरेका थिए भने केहीले यसको विपक्षमा धारणा राखेका थिए ।
अधिवेशनमा उठेका विषयहरुलाई समेटेर विधानलाई अन्तिम रुप दिन जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय एक समिति गठन भएको थियो । त्यो समितिले अधिवेशनमा उठेका विषयवस्तुलाई समावेश गरी अन्तिम रुप दिएर प्रमाणीकरणसहित आयोग पठाएको थियो । आयोगले स्वीकृत गरेपछि नयाँ विधान कार्यान्वयनमा आएको छ ।
एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान विधानमा कायम छ । यो विधान अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव अब दुई कार्यकाल मात्र अध्यक्ष रहनेछन् । प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने तोकिएको छ । महाधिवेशनको मिति भने तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै