अबको दुई-तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन, वर्षा क्रमश: कम हुँदै जाने

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १६ : ३२
अबको दुई-तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन, वर्षा क्रमश: कम हुँदै जाने

काठमाडौं। गत शुक्रवार रातिदेखि परेको अविरल वर्षा हिजो सोमवारबाट केही कम भएको छ । शनिवार र आइतवारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई/तीन दिन वर्षा धेरै हुने देखिँदैन ।

'मनसुन अबको दुई/तीन दिन सक्रिय हुने देखिँदैन । यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन । शनिवार र आइतवार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ,' उनले भने । 

 

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको मौसमविद् लामिछानेले बताए ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आङ्शिकदेखि सामान्य बदली छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना  छ ।  

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।