‘पानी बोकेरै गयो जवानी’, अहिले आयो आँगनमै धारा

रासस

मंगलबार, २३ मंसिर २०८२, १२ : १३
‘पानी बोकेरै गयो जवानी’, अहिले आयो आँगनमै धारा

देवारतोली । कालीकोटस्थित देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन्।

गाउँ आउन केही वर्षअगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो। यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फ समथर बाटो हिँडेपछि नाक नै ठोकिने भिर आइपुग्छ । भिरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली लाग्छ ।

तिलगुफा नगरपालिका–२ स्थित यस भिरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्षअगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो। चामलको बोरा बोकेर भिरमा उक्लिँदै गर्दा उनी चिप्लिएर भिरमै अड्किएका थिए । गाउँले मिलेर उनलाई उद्धार गरे।

उनले त्यो दिनको त्रासदी सम्झिँदै भने, ‘चालमको बोरा लिएर साँझमा घर आउँदै थिएँ। आधाआधि भिरमा पुगेपछि चिप्लिएछु। झण्डै तिलानदीमा पुगेको। धन्न भिरमै अड्किएछु। भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन्। टाउँकामा चोट लागेछ। नेपालगन्जमा गएर उपचार गर्दा सात लाख सकियो।’

भिरको पुछारबाट माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ। यो भिरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे, पानी लिन जाँदा कति गाग्रा गाग्री गुल्टे, देवारतोलीवासी सम्झन चाहँदैनन्। पछिल्लो समय गाउँलेले भिरको नाम नै ‘चन्द्रेभिर’ राखिदिएका छन्।

तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा–१ ढाटाक्किवासी अहिले पनि यही भिर माथिका जंगलमा घाँस दाउरा लिन आउँछन्। भिर सकिनेबित्तिकै केही समथरको जंगलमा सल्लाका रुख छन्।

जंगल सकिएपछि गाउँ आउन पुनः उकालो लाग्नुपर्छ। यही उकालोकै बीचमा सिमसार क्षेत्रमा पानीको सानो मुहान छ। पानी संकलन गर्न ट्यांकी बनाइएको छ । महिलालाई गाउँका पुछारमा रहेको ट्यांकीबाट पानी भर्न घण्टौँ लाग्थ्यो। यत्तिकै समय पानी लिएर घर आउँदा व्यतीत हुन्थ्यो। यहाँका बासिन्दा हिउँदयाममा मूल सुक्दा तिला नदीमै जान बाध्य हुन्थे।