नोम पे । करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्ना जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।
सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १२५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेपछि मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट व्यापक रूपमा रोकेपछि यो निर्वाचनलाई ढोंगको रूपमा आलोचना गरिएको थियो ।
संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले गत महिना भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै नतिजाप्रति विमति जनाएका छन् ।
सोमबार, हुन सेनको अनुरोधपछि राजा नोरोडोम सिहामोनीले एक शाही आदेश जारी गर्दै ‘संसदको सातौं म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा हुन मानेटलाई नियुक्त गरेको’ उल्लेख गरेका छन् ।
यद्यपि औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उहाँको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसद्मा विश्वासको मत प्राप्त गर्नैपर्छ ।
आगामी सरकारले युवा मन्त्रीहरूको एउटा समूहलाई ल्याउनेछ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने तर देशको राजनीतिमा आफ्नो प्रभाबलाई नत्याग्ने बताएका थिए ।
सन् १९८५ मा सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए । यद्यपि उनको शासनमा वातावरणीय विनाश, व्याप्त भ्रष्टाचार र लगभग सबै राजनीतिक प्रतिद्वन्द्वीहरूको उन्मूलन पनि भएको आलोचकहरूले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ साउन २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६६ नेपालीलाई तत्काल कम्बोडिया छोड्न दूतावासको निर्देशन
कम्बोडियाले गर्यो ६०२ नेपालीको जरिबाना मिनाहा
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार
कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार
थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा