राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १९ : २६
राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन्।

सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पाररे।

‘राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ । यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरूले ग्रहण गर्नुहुनेमा विश्वास छ’, उनले भने।

विश्व परिवेशमा देखा परेका विभिन्न घटनाक्रमका कारण अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आइरहेको परिवर्तन, सूचना एवं प्रविधिको तीव्रगतिमा भइरहेको विकासक्रमका साथै राष्ट्रियरूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको उनको भनाइ थियो। उनले प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्यमान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने प्रयासरत रहेको उल्लेख गरे।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकरात्मक रहेको उल्लेख गरे।

उनले उच्चस्तरीय तालिम सञ्चालनका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा नआउँदासम्म यहाँ सञ्चालन गरिने तालिमले नै राष्ट्रिय सुरक्षामा टेवा पुग्नेमा विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस