आफ्नो पार्टीको दबाबमा परेर सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको रवि लामिछानेको दाबी

सफल खबर संवाददाता

सोमबार, १५ साउन २०८०, १४ : २५
आफ्नो पार्टीको दबाबमा परेर सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको रवि लामिछानेको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारका पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे । उनले भ्रष्टाचारका फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताए ।

सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुशीको कुरा हुने समेत बताए । नेपाली जनता आफैँले कोरेको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभुति चाहिने भन्दै उनले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने बताए ।

‘हाम्रो उपस्थितिले मात्रै पनि जुन ढंगले होशियारी देखिएको छ–ठाउँठाउँमा । सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरुमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ । यो आफैंमा एउटा राम्रो संकेत हो,’ उनले भने, ‘यसलाई मैले गलत अर्थमा लिएको छैन । राम्रो संकेत हो यो । र, मैले सरकारको कामकारबाहीलाई पनि भनेको छु कि जसरी भ्रष्टाचारको बिरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो । सम्भवतः यो आगमनले काँही न काँही सरकारलाई पुराना भ्रष्टाचारका फाईल खोल्न प्रेरणा दिएकै हुनुपर्छ । र, लाएकै हुनुपर्छ कि अहिले फाईल खोलिएन भने २०८४ सम्म त के हो के ? भन्ने लागेकै हुुनुपर्छ । त्यसकारणले यो संकेत देखिएकै छ । ठिक छ । हामी खुशी छौं । हामीले निर्वाचनमा जानुअघि उठाएको विषयमा सरकारले आउने निर्वाचन सम्ममानै धेरै सरसफाई गर्न सकेछ भने हाम्रो काम सजिलो नै हुनेछ । किनकी नेपाली जनताले अव जुन किसिमको एउटा समृद्धिको खाका कोरेका छन । र, त्यो समृद्धिको खाका कोर्नु भन्दा अगाडि जुन किसिमको सुशासनको प्रतिवद्धता चाहिन्छ । त्यसको छनक देख्न पाएको हुनाले हामी यसमा खुशी नै छौं । हामीले यसमा दुःख मनाउ गर्ने कुरा छैन ।’

सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए । उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पु¥याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।