कोशी प्रदेश : सभामुखलाई राजीनामा गराएरै भएपनि नेतृत्व लिने गठबन्धनको तयारी

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १५ : ११
कोशी प्रदेश : सभामुखलाई राजीनामा गराएरै भएपनि नेतृत्व लिने गठबन्धनको तयारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादीसहितकागठबन्धन दलहरू कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि नयाँ सरकार गठन गर्ने तयारीमा लागेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहनुएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलालगायतका नेतासँग छलफल भएकाे थियो ।

सर्वोच्चको अदालतको आदेशसँगै कोशीमा कांग्रेसका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई दलका शीर्ष नेताबीच छलफल भएको हो ।

छलफलमा सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने उपयुक्त विकल्पका सम्बन्धमा सहमतिनजिक पुगे पनि सरकारको नेतृत्वका विषयमा नयाँ वहस सृजना भएको बताइएको छ

सभामुख गौतमलाई राजीनामा गराउन दलहरूबीच लगभग सहमति भएको छ। तर, सभामुख गौतमले भने तत्काल राजीनामा दिन आनाकानी गरे, अर्काे विकल्प राप्रपालाई विश्वासमा लिएर अघि बढ्ने बारेमा पनि छलफल भएकाे थियाे ।

साथै यदि माओवादीका तर्फबाट सभामुख बन्नुभएका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ ।

पहिले सभामुखलाई राजीनामा गराउने र त्यसपछि मात्रै सरकारको नेतृत्वका विषयमा छलफल अघि बढ्ने अडान नेपाली कांग्रेसले राखेको छ । कांग्रेसका एक नेताले भने, ‘अब पनि मुख्यमन्त्री बन्ने त नेपाली कांग्रेसबाटै हो । तर, उद्धव थापालाई नै अघि सार्ने कि अर्को व्यक्ति खोज्ने भन्नेमा वहस सृजना भएको छ ।’

साथै दुई दलबीच राप्रपालाई विश्वासमा लिन समेत प्रयास जारी रहेको छ । आज बिहानको छलफलमा पनि कोशीमा नयाँ सरकार गठनबारे विभिन्न विकल्पमा छलफल भएको थियो । राप्रपालाई विश्वासमा लिने, सभामुख गौतमले राजीनामा दिनेलगायतका विकल्पमा पनि शीर्ष नेताबीच छलफल भएको स्रोतले बतायो ।

अदालतले गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्‍याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ । यसअघि तटस्थ रहेका सभामुखको समेत समर्थन लिएर सरकार गठन गर्दा उद्धव थापाको सरकार २२ दिनमै ढलेको थियो ।
 

प्रतिक्रिया दिनुहोस