समाजवादी मोर्चाको आचारसंहिता : अप्राकृतिक गठबन्धन र साँठगाँठ गर्न नपाइने

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १६ : ४१
समाजवादी मोर्चाको आचारसंहिता : अप्राकृतिक गठबन्धन र साँठगाँठ गर्न नपाइने

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाले १३ बुँदे आचारसंहिताको व्यवस्था गरेको छ । मोर्चाको कार्यविधिमा आचारसंहितको व्यवस्थासमेत गरिएको हो ।मोर्चामा आबद्ध सबै पार्टीले पालना गर्नुपर्ने भन्दै जारी आचारसंहितामा घटक दलहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन, एफएमलगायत कुनै पनि सञ्चारमाध्यममा मोर्चाको नीतिविरुद्ध सार्वजनिक  टिकाटिप्पणी गर्न नपाइने उल्लेख छ ।

 

संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्कामाथि आरोप प्रत्यारोप गर्न नपाइने, मोर्चाको कार्यक्रममा मोर्चाकै निर्णय अनुरुप आफ्नो मन्तव्य राख्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।यस्तै, मोर्चाका घटक पार्टीहरुले आयोजना गर्ने कार्यक्रमहरूमा एक आपसमा मैत्रीपूर्ण सहयोग गर्नुपर्ने, एकले आयोजना गरेको कार्यक्रममा अर्कोले हस्तक्षेप गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा गरिएको छ ।

यसैगरी पार्टीका साथीहरुले एक अर्काप्रति सम्मान, मित्रता र आदरपूर्वक व्यवहार गर्नुपर्ने, मोर्चाको मञ्चबाट आफ्नो पार्टीको नीतिको व्याख्या गरी अर्को पार्टीको नीतिको आलोचना गर्न नपाइने तर राज्यको गलत नीति र कार्यक्रमको विरोध र भण्डाफोर भने गर्न पाइने आचारसंहितामा उल्लेख छ ।

मोर्चाको अनुशासन, पद्धति र गोपनीयतालाई सबैले अनिवार्य रुपमा पालन गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ । यस्तै, मोर्चाभित्र एकको विरुद्ध अर्को पार्टीहरु मिलेर गुटबन्दी गर्न तथा मोर्चाको उद्देश्य र समाजवादको ध्येय विपरीतका यथास्थितिवादी, दक्षिणपन्थी र प्रतिक्रियावादी पार्टीहरुसँग कुनै पनि रुपमा अप्राकृतिक गठबन्धन र साँठगाँठ गर्न पाइने छैन भन्ने प्रावधान आचारसंहितामा राखिएको छ ।

मोर्चाको अनुशासन, पद्धति र आचारसंहिताको पालना नगरेमा वा उल्लङ्घन गरेमा कुनै पनि घटकलाई संयोजन समितिले कारबाही गर्न सक्ने तर यसरी कारबाही गर्दा सुनुवाइको मौका दिनुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।