प्रतिपक्षीबिनै कम्बोडियामा आज निर्वाचन हुँदै

एजेन्सी

आइतबार, ०७ साउन २०८०, १५ : १९
प्रतिपक्षीबिनै कम्बोडियामा आज निर्वाचन हुँदै

काठमाडौं । कम्बोडियामा आज निर्वाचन हुँदैछ । विश्वकै लामो समय शासनमा रहेका प्रधानमन्त्री हुन सेनले प्रतिपक्षीविनै त्यहाँ चुनाव गराएका छन् । यसअघिका कार्यकालमा झै यसवर्ष पनि त्यहाँको चुनावमा सत्तापक्षले धाँधली गरेको पर्यवेक्षकहरूको भनाइ छ ।

केही वर्ष पहिले कम्बोडियाका शासकले प्रतिपक्षी तह लगाउन निकै नै निर्दयी कदम चालेका थिए । प्रतिपक्षी दल र त्यसका नेता प्रधानमन्त्री र उनको दलभन्दा लोकप्रिय बनेपछि हुन सेनले अदालतको सहारा लिएर प्रतिपक्षी दल नै भंग गरिदिएका थिए  ।

उनी त्यतिमै रोकिएनन्, प्रतिपक्षी दलका सांसदलाई संसदबाट हटाए,  नेताहरूलाई गिरफ्तार गरे ।

आफ्ना विपक्षीलाई  तह लगाएको ६ महिनापछिको निर्वाचन भयो । सन् २०१८ मा भएको निर्वाचनमा १२८ सिटको संसदमा सबै सिट हुन सेनको दल कम्बोडियन पिपल्स पार्टीले जित्यो ।

आइतबारको निर्वाचन परिणाम पनि त्यस्तै हुनेवाला छ । मतदाताले विकल्प छान्न पाउनेछैनन् । ‘यो निर्वाचन पनि पूर्णतया धाँधलीवाला नै छ । त्यहाँ कुनै बलियो प्रतिपक्षीको उपस्थिति छैन’, पोनम फेनका एक मतदाता भन्छन् ।

७० वर्षका हुन सेनले कम्बोडियामा सन् १९८५ देखि शासन गरेका थिए ।कम्युनिस्ट पार्टी अफ कम्पुचेको क्रुर शासक पतन हुन अगावै हुन भियतनाम भागेका थिए । शक्तिमा अस्तित्ववादी आशक्तिका कारण उनी विश्वकै सबैभन्दा लामो शासन गर्ने प्रधानमन्त्री बन्न पुगे ।

४० वर्षयता उनले कम्बोडियाको शासनसत्ता आफ्नो मुठ्ठीमा राखेका छन् । सेना, प्रहरी, गुप्तचर संस्थाको साथबाट उनले आफ्नो शक्तिलाई बलियो बनाउँदै लगेका छन् ।

कम्बोडिया विगत ३ वर्षदेखि प्रतिपक्षीविहीन छ । किनभने हुन सेनले कतिपयलाई आफ्नो दलमा समाहित गरे । कतिलाई जेल र निर्वासन पठाए । उनले प्रतिपक्षीलाई किनारा लगाइछाडे ।

संयुक्त राष्ट्रसंघले खमेर रुज शासनको पतनसँगै सन् १९९० मै कम्बोडियालाई प्रजातान्त्रिक मुलुकका रूपमा स्थापित गरेको थियो । राजनीतिक विश्लेषकहरू कम्बोडिया अहिले सर्वसत्तावादी एकदलीय राज्य भएको र हुन सेन एक तानाशाह भएको बताउँछन् ।

पोनम फेनमकै अर्का मतदाता भन्छन्,’वर्तमान स्थितिबारे म निकै निराश छु । म २० वर्षको हुँदा परिवर्तनको अपेक्षा बोकेर प्रतिपक्षी दललाई मत हालेको थिएँ । अहिले कम्बोडिया प्रतिपक्षीविहीन छ ।’

मतदाताको विकल्प छनौटको अधिकारलाई हुन सेनले धुलिसात पारे । चुनावको समयमा सरकारको आलोचना गर्न अहिले सबैजना डराउँछन् ।

४० वर्ष शासन गरेका हुन सनेले कम्बोडियालाई गरिबीबाट माथि उकास्न सकेका छैनन् । कम्बोडिया एशियाकै गरिब राष्ट्रमध्येमा पर्छ । कम्बोडियाका बासिन्दा महंगी र गरिबीको चपेटामा छन् । आपराधिक क्रियाकलाप पनि त्यहाँ उत्तिकै छ । यस्तो अवस्थामा हुन सेन फेरि प्रधानमन्त्री बन्दैछन् । ‘यसले जनतालाई प्रतिनिधिविहीन बनाउनेछ । कसैले पनि त्यहाँ जनताको आवाज बोल्नेछैन । त्यसैले सबै मतदाता मौन छन्’, अर्का मतदाताले भने ।

देखावटी मतदान

हुन सेनले शासन अब आफ्नो छोरालाई सुम्पिने तयारी गरेका छन् ।  तर कहिले हस्तान्तरण गर्छन् भन्ने टुंगो छैन । शासनको अन्त्यतिर हुन सेन अति नै दमनकारी र प्रतिशोधकारी हुने धेरैले आकलन गरेका छन् । यो चुनावअघि उनले प्रतिपक्षीलाई प्रतिबन्ध लगाउनुअघि निकै नै साथ दिएका थिए ।

क्याण्डललाइट पार्टी विगतको प्रतिपक्षीको अस्तुबाट उत्पत्ति भएको थियो । व्यापक दमन र धम्कीकाबीच कम्युन चुनावमा त्यस दलले २२ प्रतिशत सिट जितेको थियो ।

यो विषय हुन सेनलाई सह्य भएन । क्याण्डललाइट आफ्नो लागि खतरा रहेको महशुस भएलगत्तै उनले त्यस दललाई प्रतिबन्ध लगाएको  निरंकुश शासकबारेका अध्यता ली मोरनबेस्सर भन्छन् ।

हुन सेनले क्याण्डललाइटका नेताविरुद्ध मुद्दा दर्ता गराउन लगाए । फेब्रुअरीमा त्यस दलका नेताहरुविरुद्ध मुद्दा दर्ता भयो । मेमा निर्वाचन कार्यालयले पार्टीनै खारेज गरिदियो ।

कम्बोडियाको मतपत्रमा १७ दलको चिह्न हुनेछ तर ती सबका सब सत्तारुढ दल निकट हुन् । ‘हामीले उचित स्रोतको उपयोग गर्दै पार्टीको प्रचार व्यापक बनाएका थियौँ । सबै सिटमा उम्मेदवारी दिनेगरी हाम्रो तयारी भएको थियो तर बीचमै नयाँ नियम घुसाउँदै हाम्रो दललाई षड्यन्त्रपूर्वक खारेज गरियो’, क्याण्डललाइटका एक प्रतिनिधिले भने ।

यस दलका नेताका लागि कम्बोडिया खतरा छ । क्याण्डललाइटका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन्  । यसै साता थाइल्याण्डबाट कतिपय नेताहरु गिरफ्तार भएका थिए ।

लोकतान्त्रिक पतनको दशक

हरेक चुनावमा कम्बोडियामा हिंसा र धाँधली हुने गर्छ । तर सन् २०१८ को निर्वाचन अघिसम्म त्यहाँको चुनाव प्रतिस्पर्धीनै हुने गरेको थियो । प्रतिपक्षी दलका लागि चुनाव कठिन भएपनि उनीहरूले सहभागिताको मौका पाउँथे ।

सत्तामा जाने वैधानिक बाटो उनीहरुका लागि अप्ठ्यारो भएपनि खुला भने थियो । सन् २०१७ को अन्त्यतिर त्यहाँ प्रतिपक्षी दलहरूले गठबन्धन बनाए । सम रेन्सी र केम सोखा मिलेर कम्बोडियन नेशनल रेस्क्यु पार्टी गठन भयो ।  उनीहरूले ४४ प्रतिशत मत ल्याउँदा हुन सेनलाई असह्य भयो । त्यस रात कम्बोडियाका जनताले शासन फेरिन सक्ने संकेत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस