पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, १९ : ४५
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । यस्तै हवाई इन्धनको हकमा भने साविक बमोजिमकै व्यवस्था रहने निगमको भनाइ छ । 

‘अब उप्रान्त इण्डियन आयल कर्पोरेसनबाट प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ईण्डियन आयल कर्पोरेशनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ ।’

निगमले हाल तिर्नुपर्ने ऋण तथा अन्य दायित्व वापतको रकम भुक्तानी गर्न तथा निगमको पूर्वाधार विकास, डिपो तथा अग्नी सुरक्षा संरचनाको मर्मत, आधुनिकीकरण लगायतका अत्यावश्यक कार्यहरुका लागि आवश्यक पर्ने पूजी संकलनका लागि लागत मूल्यको आधारमा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राख्ने जनाएको छ । आम उपभोक्ता र विशेष गरी गृहिणीहरूको हितलाई ध्यानमा राखि खाना पकाउने एलपी ग्यासमा निगमले कनै मुनाफा नलिई लागत मूल्य वमोजिम नै खुद्रा मूल्य राख्ने जनाएको छ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभाञ्चित हुने निगमको विश्वास छ । 

हवाई इन्धनको हकमा भने मूल्य समायोजन गर्ने अधिकार निगम संचालक समितिमा रहने निगमले स्पष्ट पारेको छ ।