नेपाली काँग्रेसलाई प्रश्न

के हो अधिनायकवाद ? खोई कहाँ छ अधिनायकवाद ?

आइतबार, २० साउन २०७५, १४ : ०८
के हो अधिनायकवाद ? खोई कहाँ छ अधिनायकवाद ?

अहिले नेपाली कांग्रेसको विरोधको राष्ट्रिय एजेण्डा अधिनायकवाद रहेको छ । उसले वर्तमान नेकपाको सरकारलाई अधिनायकवादी भएको आरोप लगाइरहेको छ । तर के हो अधिनायकवाद ? भन्ने विषयमा काँग्रेस मौन छ, जनतालाई चित्त बुझाउन सकिरहेको छैन । सरकारका विरुद्ध आन्दोलनरत कांग्रेसले साउन १५ गते आयोजना गररेको देशव्यापी प्रदर्शन र अहिलेसम्मको आन्दोलन भारी वर्षासंगै भेलमा बगेर गएको छ ।
जनताको दुईतिहाई बहुमतसहित बनेको सरकारलाई काँग्रेसले आफ्नो जिद्धी अनुसार चलाउन खोजेको छ । संसदीय मूल्यमान्यता अनुसार बनेको संविधान अन्तर्गत भएको निर्वाचनमा भाग लिएर पराजित भएपछि सरकारलाई अधिनायकवादी भयो भन्नु आफैमा अन्तरविरोधी र हास्यास्पद छ ।
सरकार जनताप्रति वफादार हुनु पर्दछ र संविधानको मर्म अनुसार अघि बढ्नु पर्दछ । आफ्नो शासन खोसिएको पीडामा गरिने बर्बराहटलाई जनताले राम्रैसंग बुझेका छन् । निर्वाचित सरकारले विपक्षी दलले खोँचे थापे अनुसार आफ्नो काम कारबाही गर्न सक्तैन । यो लोकतन्त्रको मूल्य मान्यता अनुरुप पनि हुन सक्तैन ।
नेपाली कांग्रेसले वर्तमान सरकारलाई अधिनायकवादी भन्नुभन्दा पहिले २०४८ सालमा गिरिजा प्रसाद कोइरालको नेतृत्वमा बनेको आफ्नै सरकारको रवैयालाई स्मरण गरे पनि प्रर्याप्त हुन्छ । कांग्रेसी सर्वसत्तावादको शिकार भएको सिगो पुस्ता अहिले पनि जिवित छ । त्यो सरकारले कर्मचारीहरुमाथि गरेको अत्याचारले सीमा नाघेर सडकमै आउन बाध्य भएका थिए कर्मचारीहरु । फरक आस्था राख्ने शिक्षक, कर्मचारी र राजनीतिक कार्यकर्ताहरु सरकारी दमनको शिकार भएका थिए । सरकारी सञ्चार माध्यमलाई पार्टीको मुखपत्र बनाइयो । दिनहुं कांग्रेस प्रवेशका समाचारहरु प्रसारण भए । झण्डै नेपालको जनसंख्याको आधाभन्दा बढीलाई कांगेस्र बनाइएको थियो । कैयौं शिक्षक र कर्मचारीहरु सरकारी प्रताडनालाई खप्न नसकेर जागिर छोड्न बाध्य भएका थिए । त्यही कुशासनको सजायस्वरुप काँग्रेसले २०५१ सालको मध्यावधि निर्वाचनमा नराम्रो पराजय भोग्नु प¥यो ।
बहुमतको सरकार टिकाउन नसकेर कांग्रेसले नै मध्यावधि निर्वाचन घोषणा गरेको थियो, जसमा तत्कालीन नेकपा एमाले संसदको सबभन्दा ठूलो दल बनेको थियो । यिनै शेरबहादुरले निर्वाचित संसद बिघटन गरेर लोकतन्त्र दरबारमा बुझाएका थिए । आज सबभन्दा ठूलो लोकतन्त्रवादी बनेर उनैले अधिनायकवादको डंका पिटिरहेका छन् । कम्युनिष्टहरु बिरुद्ध लगाउने यो परम्परागत एजेण्डालाई नेपाली जनताले अब विश्वास गर्नेवाला छैनन् । बरु विकास निर्माण र समृद्धिका असल कुराहरुलाई समर्थन गरेर रचनात्मक विपक्षीको भूमिका खेल्दा कांग्रेस उ“भो लाग्ला । जनताले दिएको आसनमा बसेर अर्को निर्वाचनको तयारी गर्दा नै कांग्रेसको हित होला । - शर्माजी

प्रतिक्रिया दिनुहोस