एक व्यक्ति दुई पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न आयोगको प्रस्ताव

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, १९ : ०६
एक व्यक्ति दुई पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी सांसद हुन नपाउनेगरी कानुन बनाउन प्रस्ताव अघि सारेको छ ।

सोमबार बसेको आयोगको बैठकले ‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेस गर्ने निर्णय गरेको हो । सो विधेयकको मुख्य बुँदाहरू सार्वजनिक गर्दै आयोगले सो व्यवस्था गर्न लागिएको जनाएको छ । त्यसैगरी निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा उजुरी परेमा सम्बन्धित अदालतले त्यस्तो मुद्दा छ महिनाभित्र कारवाही र किनारा गर्नुपर्ने पनि व्यवस्था विधेयकमार्फत गरिएको आयोगले जनाएको छ ।

कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्ता उम्मेदवारलाई समर्थन नरहनेगरी मतपत्रमा मतदानको व्यवस्था गर्ने बताएको छ । आयोगको प्रस्तावित विधेयकमा मतदाता नामावली तयार गर्ने प्रयोजनको लागि विदेशमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने, निर्वाचन हुने दिन र निर्वाचन प्रचार प्रसारको अवधि विधेयकमा नै किटान गर्ने, .संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने लगायतका विषय उल्लेख छ । त्यसैगरी कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने प्रस्ताव पनि निर्वाचन आयोगले अघि सारेको छ ।

प्रस्तावित विधेयकमा प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारी दिँदा कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार दिनु पर्ने, स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख मध्ये कम्तीमा एक जना महिला उम्मेदवार हुनु पर्ने, एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार दिनु पर्ने एवम् वडा अध्यक्षको पदमा उम्मेदवारी दिँदा सम्बन्धित स्थानीय तहका सम्पूर्ण वडा अध्यक्ष मध्ये कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार दिनु पर्ने प्रावधान राखिएको छ ।