भरतपुर महानगरले अबदेखि विद्युतीय सवारी साधन मात्र खरिद गर्ने

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, ११ : १२
भरतपुर महानगरले अबदेखि विद्युतीय सवारी साधन मात्र खरिद गर्ने

चितवन । भरतपुर महानगरपालिकाको तेह्रौ अधिवेशन आज (आइतबार) हुँदैछ। यस वर्ष महानगरपालिकाले सडक पूर्वाधारसँगै विद्युत् खपत बढाउन उज्यालो भरतपुरलाई प्राथमिकतामा राख्दैछ। सोही अनुरूप भरतपुर महानगरपालिकाले अबदेखि विद्युतीय सवारीसाधन मात्र खरिद गर्ने तयारी गरेको छ। ‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत गर्ने’ नीति अनुरूप विद्युतीय सवारीसाधनको प्रयोग बढाउन यस्तो नीति ल्याउन लागेको हो। 

आज  महानगरले  आर्थिक बर्ष २०८०÷०८१को नीति तथा कार्यक्रममार्फत यस्तो ल्याउँदै छ। विद्युतीय सवारीसाधनको सहज चार्जिङका लागि पाँच स्थानमा चार्जिङ स्टेसन राख्ने गरि नीति ल्याउन लागेको महागनरपालिका स्रोत बताउँछ। हाल भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनलमा नेपाल विद्युत प्राधिकरणसंगको सहकार्र्यमा चार्जिङ्ग स्टेसन सञ्चालनमा आइरहेको छ। आगामी बर्ष महानगरको वडा नम्बर एक स्थित रामनगरमा नेपालकै अत्याधुनिक चार्जिङ्ग स्टेशन निर्माण गर्ने महानगरको लक्ष्य छ। त्यसबहेक गीतानगर, चनौली, नारायणगढ बसपार्क र महानगर परिसरमा समेत चार्जिङ स्टेसन निर्माण गर्ने योजनामा महानगरपालिका छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको समन्वय र सहकार्यमा महानगरभित्र विद्युतीय बससहित गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको प्रारम्भ गर्ने योजना महानगरपालिकाको छ। ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रहरूमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तार कार्यलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिने अनुमान छ। 

प्रतिक्रिया दिनुहोस