काठमाडौ । अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आंखोपमा ३ घर बगाएको छ ।
शनिवार राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन ।
बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपाया समेत बगाएको जनाइएको छ ।
यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि २ घर उच्च जोखिममा रहेका स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन्
बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडक समेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।
मैवाखोला–२ र ५ नम्बर वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो ।
बिहीवार राति मात्र सिरीजंघा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका ५ वटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।
मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्ग समेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता