राजनीतिक दल र नेताले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ दिनुपर्छ : वर्षमान पुन

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १३ : २३
राजनीतिक दल र नेताले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ दिनुपर्छ : वर्षमान पुन

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राजनीतिक नेतृत्व र पार्टीहरुमाथि समाज आलोचक बन्दै गएको र प्रश्नहरु उठेको बताएका छन् । 

चीनमा चार महिना लामो उपचारबाट स्वदेश फकिएपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पार्टी नेता कार्यकर्ता र शुभचिन्तकहरुसँग कुरा गर्दै दल र नेताहरुले आलोचनालाई नकारात्मक रुपमा लिन नहुने उल्लेख गरे । लोकतन्त्रमा जनताको प्रश्नभन्दा बाहिर हुन कोही पनि हुन नसक्ने भन्दै उनले आफूमाथिका प्रश्नहरुको राजनीतिक दल र नेताहरुले व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने तर्क गरे । राजनीतिक दल र नेताहरु नयाँ अग्नि परीक्षामा रहेको भन्दै पुनले जनताका एक÷एक प्रश्न र आशंकाहरुको जवाफ सबैले दिनुपर्नेमा जोड दिए । ‘नेपाली समाज आलोचक बन्दै गएको छ । राजनीतिमाथि, नेताहरुमाथि र राजनीतिक दलहरुमाथि प्रश्न उठेको छ । प्रश्न उठ्नु नराम्रो होइन’, पुनले भने, तर,  प्रश्नहरुको सकारात्मक जवाफ दिनु राजनीतिक दल र नेताहरुको हरुको कर्तव्य हो । राजनीतिक व्यवस्थाको कर्तव्य हो । व्यवहारबाटै त्यसको जवाफ दिइनुपर्छ, राजनीतिक व्यवस्था, दल र नेताहरुको औचित्यता साबित गर्न सक्नुपर्छ यो हाम्रो दायित्व हो ।’ व्यवस्था बदलेका राजनीतिक दल र नेतृत्वसँग जनताले अवस्था बदलियोस् भन्ने अपेक्षा राख्नु सर्वथा गलत नहुने तर्क उनको थियो । सबै राजनीतिक दल र नेताहरुको ध्यान मुलुकको अवस्था बदल्न आर्थिक तीव्र वृद्धिमा हुनुपर्ने पनि उनले औंल्याए । 

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा नयाँ र राम्रका कामको थालनी गरेको भन्दै प्रशंसा गरे । राम्रा कामहरुका कारण सरकारप्रति जनसमर्थन रहेको दाबी पनि उनले गरे । वर्तमान सरकारले शासन प्रशासनमा जनताको अपेक्षाअनुसार काम गर्ने र सुशासन कायम गर्ने कुरामा सम्झौता नगर्ने बताए ।  नेता पुनले आफू नियमित रुपमा राजनीतिक काममा सक्रिय हुने जानकारी दिए । ‘म तत्काल नियमित रुपमा पार्टी काम र जनताको सेवामा सक्रिय हुनेछु । जनतासँग सम्बन्धित, देश, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एजेण्डामा  केन्द्रित रहेर काममा लाग्नेछु । 

पुन शुक्रबार चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत नेपाल आएका हुन् । पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन् । 

लामो समयदेखि जटिल प्रकारको बंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो । उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो । चीन जाँदा उनको शरीरमा जण्डिसको मात्रा (बिलरुबिन)  ४० बिन्दुमा थियो । चार महिना महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन तन्दुरुस्त देखिएका छन् । हाल बिलरुबिनको मात्रा घटेर १.५ बिन्दुमा झरेको उनले बताए । पुनले आफ्नो उपचारमा पहल गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए । यस्तै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने माओवादी केन्द्र र अरु दलका नेता कार्यकर्ता, उच्च राजनीतिक र प्रशासनिक नेतृत्व, सुरक्षा अधिकारी, कूटनीतिज्ञ, सञ्चारकर्मी र शुभेच्छुहरुप्रति कृतज्ञ रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस